Latest News

काठमाडौं महानगर : यस्तो आयो दिउँसो ४ बजेसम्मको मत परिणाम

Nepalese Times May 18, 2022 (2 Year ago)    910 Views

काठमाडौं । काठमाडौँ महानगरपालिकाको अहिलेसम्म ४५ हजार ३१८ मत गनेर सकिएको छ । अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले १७ हजार ४८८ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ९२७१ मत ल्याएका छन्। त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ८३५१ मत ल्याएकी छन्। गणना भइसकेका र गणना भइरहेका १२ वटा वडामध्ये वडा २८ मा भने प्रारम्भिक मतगणनामा बालेनभन्दा स्थापित अघि देखिएका थिए।

स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मत गणनाको क्रम चलिरहेको छ । अहिलेसम्म ७ सय ५३ पालिकामध्ये ६० प्रतिशत अर्थात ४५० भन्दा धेरै पालिकाको नतिजा सार्वजनिक भएको छ ।

प्राप्त अन्तिम नतिजा अनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ४७ प्रतिशत पालिकामा जित हात पारेको छ। २१० पालिकामा कांग्रेसले जित हात पारेको हो ।यस्तै नेकपा एमालेले १३२ पालिकामा जित हात पारेको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९३ पालिकामा जित हाँसिल गरेको छ ।

यस्तै जनता समाजवादी पार्टीले ८ पालिकामा जित निकाल्दा नेकपा एकीकृत समाजवादीले ७ पालिकामा प्रमुख पदमा विजयी भएको छ। यस्तै स्वतन्त्र ६, नेमकिपा, राजमो ३, राप्रपाले २ र जनमत पार्टीले १ पालिकामा जित हात पारेको छ।

यस्तै देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकामा निर्वाचित हुने ६ हजार ७ सय ४३ वडाध्यक्ष्मध्ये दुई तिहाइ बढी निर्वाचित भैसकेका छन् ।निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइडमा बुधबार राखेको तथ्यांक अनुसार हालसम्म ४ हजार ८ सय ६७ वडाध्यक्ष निर्वाचित भैसकेको छन् ।

जसमा सवैभन्दा धेरै नेपाली काँग्रेसका १ हजार ९ सय ६२ जना र एमालेका १ हजार ५ सय २२ जना निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट ८२७, जनता समाजवादीबाट १४७ र स्वतन्त्रसहित अन्यमा ४०९ जना वडाध्यक्ष निर्वाचित भएको आयोगले जनाएको छ । कुल वडाध्यक्षमध्ये निर्वाचित भएका घटाउँदा १९ सय ७६ वडाध्यक्ष निर्वाचित हुन बाँकी छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीलाई स्थानिय चुनावमा गम्भीर धक्का लागेको छ। उनले आफ्ना भाइदेखि दिदीसम्मलाई चुनावमा उठाएका थिए। उनीहरू दुवै चुनावमा पराजित भएका छन्। नेकपा माओवादी केन्द्रसँग तालमेल गरेपनि आफ्नै वडा र पालिका उपाध्यक्ष जिताउन मेटमणि असफल भएका हुन्।

मेटमणिको गृह पालिका गढवाको वडा नम्बर ७ को अध्यक्षमा उनका भाइ पुरन चौधरी उठेका थिए। एकीकृत समाजवादीबाट आफ्नै वडा अध्यक्षमा उठाएका पुरनले ५०३ मत ल्याएर पराजित भएका छन्। मेटमणिको वडामा अध्यक्षमा काँग्रेसका राहुलदेव चौधरीले ९९१ मत ल्याएर विजयी भएका छन्। मेटमणिले माओवादी केन्द्रसँग चुनावी तालमेल गरेपनि आफ्नै भाइलाई जिताउन असफल भएका छन्।

यस्तै मेटमणिले आफ्नै दिदी शान्तिलाई माओवादीसँग तालमेल गरेर एकीकृत समाजवादीबाट उपाध्यक्षमा उठाएका थिए। शान्तिले समेत उपाध्यक्षमा पराजित भएकी छन्। अन्तमा काँग्रेसबाट उठेकी शारदा चौधरी विजयी भएकी छन्। शारदाले ५१८१ मत ल्याएर विजयी भएकी छन्। एमालेकी सीता चौधरीले ४८३० मत र एकीकृत समाजवादीकी शान्ति चौधरीले ४११२ मत ल्याएर तेस्रो भएकी छन्।

प्रतिक्रिया दिनुहोस