काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मत गणनाको क्रम चलिरहेको छ । अहिलेसम्म ७ सय ५३ पालिकामध्ये ६० प्रतिशत अर्थात ४५० भन्दा धेरै पालिकाको नतिजा सार्वजनिक भएको छ ।
प्राप्त अन्तिम नतिजा अनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ४७ प्रतिशत पालिकामा जित हात पारेको छ। २१० पालिकामा कांग्रेसले जित हात पारेको हो ।
यस्तै नेकपा एमालेले १३२ पालिकामा जित हात पारेको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९३ पालिकामा जित हाँसिल गरेको छ ।
यस्तै जनता समाजवादी पार्टीले ८ पालिकामा जित निकाल्दा नेकपा एकीकृत समाजवादीले ७ पालिकामा प्रमुख पदमा विजयी भएको छ। यस्तै स्वतन्त्र ६, नेमकिपा, राजमो ३, राप्रपाले २ र जनमत पार्टीले १ पालिकामा जित हात पारेको छ।
यस्तै देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकामा निर्वाचित हुने ६ हजार ७ सय ४३ वडाध्यक्ष्मध्ये दुई तिहाइ बढी निर्वाचित भैसकेका छन् ।निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइडमा बुधबार राखेको तथ्यांक अनुसार हालसम्म ४ हजार ८ सय ६७ वडाध्यक्ष निर्वाचित भैसकेको छन् ।
जसमा सवैभन्दा धेरै नेपाली काँग्रेसका १ हजार ९ सय ६२ जना र एमालेका १ हजार ५ सय २२ जना निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट ८२७, जनता समाजवादीबाट १४७ र स्वतन्त्रसहित अन्यमा ४०९ जना वडाध्यक्ष निर्वाचित भएको आयोगले जनाएको छ । कुल वडाध्यक्षमध्ये निर्वाचित भएका घटाउँदा १९ सय ७६ वडाध्यक्ष निर्वाचित हुन बाँकी छन् ।
यस्तै काठमाडौँ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार केशव स्थापितको आफ्नै वडामा दोब्बर मतले पछाडी परेका छन् । जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले स्थापितको वडामा झण्डै दोब्बर मतले अग्रता कायम गरेका हुन्।
स्थापित आफ्नै वडामा तेस्रो भएका छन्। केशव स्थापितको वडा नम्बर २९ मा १३ सय ७० मत गणना हुँदा बालेन शाहले ४ सय ६२ मत प्राप्त गरेका छन्।
बालेनपछि नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले ३ सय २१ मत ल्याएकी छन् भने स्थापितले जम्मा २७० मत पाएको महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।