Latest News

अहिलेसम्म ४,८६८ वडाध्यक्ष निर्वाचित, कुन पार्टीबाट कतिले जिते ? (विवरणसहित)

Nepalese Times May 18, 2022 (2 Year ago)    762 Views

काठमाडौं । देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकामा निर्वाचित हुने ६ हजार ७ सय ४३ वडाध्यक्ष्मध्ये दुई तिहाइ बढी निर्वाचित भैसकेका छन् ।

निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइडमा बुधबार राखेको तथ्यांक अनुसार हालसम्म ४ हजार ८ सय ६७ वडाध्यक्ष निर्वाचित भैसकेको छन् ।

जसमा सवैभन्दा धेरै नेपाली काँग्रेसका १ हजार ९ सय ६२ जना र एमालेका १ हजार ५ सय २२ जना निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट ८२७, जनता समाजवादीबाट १४७ र स्वतन्त्रसहित अन्यमा ४०९ जना वडाध्यक्ष निर्वाचित भएको आयोगले जनाएको छ । कुल वडाध्यक्षमध्ये निर्वाचित भएका घटाउँदा १९ सय ७६ वडाध्यक्ष निर्वाचित हुन बाँकी छन् ।

यस्तै देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ४४४ वटामा मतगणना कार्य सकिएको छ । गत वैशाख ३० गते एकसाथ सबै स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ ।

नेपाली कांग्रेसले हालसम्म २०४ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजय हात पारिसकेको छ । मतगणना सकिएकामध्ये ४५.९५ प्रतिशत पालिकामा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

स्थानीय तह निर्वाचनमा प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित हुने दोस्रो ठूलो संख्या नेकपा एमालेका उम्मेदवारको छ । एमालेका उम्मेदवार हालसम्म १२८ स्थानमा विजय भइसकेका छन् । यो भनेको मतगणना सकिएका पालिकामध्ये २८.८२ प्रतिशत हो ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले हालसम्म ८६ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जित निकाल्न सफल भएको छ । हालसम्म मतगणना सकिएकामध्ये १९.३६ प्रतिशत पालिकामा माओवादीका उम्मेदवार विजयी बनेका छन् ।

नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार हालसम्म ७ पालिकाको प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित भएका छन् । मतगणना सकिएका कूल पालिकामध्ये १.५७ प्रतिशतमा एकीकृत समाजवादीका उम्मेदवारले जितेका छन् ।

जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म ५ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्ष पद जितेको छ । यो भनेको मतगणना सएिकामध्ये १.१२ प्रतिशत पालिका हो । अन्य दल र स्वतन्त्र उम्मेदवारले १४ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

मतगणना सकिएकामध्ये ३.१५ प्रतिशत पालिका प्रमुख तथा अध्यक्षमा अन्य र स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले भने हालसम्म एउटा पालिकाको पनि प्रमुख तथा अध्यक्ष जित्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस