काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा ज्वाइँलाई हराउँदै जेठान मेयरमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्ना ज्वाइँ नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई हराएर मेयर बनेका हुन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार मेयरमा निर्वाचित सुरेन्द्रले १५ हजार ९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी उम्मेदवार एमालेका मदनसुन्दर (जगूलु) श्रेष्ठले ११ हजार ३५ मत पाएका छन्
। त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेकी उत्तरा नेपालले ८ हजार ९६३ मत ल्याएर पराजित भइन् ।
यस्तै इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा भाईलाई हराउदै दाजु बिजयी भएका छन्। नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका हुन् ।
नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन् । मनोहरिले ६१० मत पाउदा मनोजले ४८८ मत पाएका छन् । मनोज र मनोहरि दाजुभाइ समेत हुन् ।
अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेदवार लक्ष्मी नेपालीबाहेक सबै पद नेपाली कांग्रेसले हात पारेको छ । वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार मनमाया राई, रेशबहादुर राई र हेमु थापा निर्वाचित भएका छन् ।
यस्तै कपिलबस्तुको बिजयनगर गाउँपालिका १ मा आफ्नै ज्वाईँलाई हराउँदै ससुरा निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार बनेका ईन्नर थारु आफ्नै ज्वाइँ बुधराम थारुलाई ३७२ मतले हराउँदै वडाअध्यक्ष निर्वाचित भएका हुन् ।