Latest News

बालेन शाह राप्रपाबाट मेयर उम्मेदवार बन्ने तयारीमा थिए, बाहिरियो यस्तो प्रमाण (भिडिओसहित)

Nepalese Times May 18, 2022 (2 Year ago)    1204 Views

काठमाडौं । यो समाचार तयार पार्दासम्म काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र शाह (बालेन) कुल खसेको मतमध्ये झण्डै ४० प्रतिशत मत ल्याएर अगाडि छन् ।

यहि अनुपातमा मत ल्याउँदै जाने हो भने उनले काठमाडौं महानगरपालिकाको मेयर पद जित्ने पक्कापक्कीजस्तै छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई भारी मतान्तरले पछाडि पारेका बालेन शाह अहिले चर्चाको केन्द्रमा रहेका छन् ।

राजनीतिक दलहरुप्रति जनताको असन्तुष्टिका कारण पनि बालेन शाहलाई भोट गएको देखिन्छ । उनलाई कलाकारदेखि सबैजसो स्वतन्त्र व्यक्तिहरुको साथ र समर्थन रहेको पाईन्छ ।

उनै चर्चाको केन्द्रमा रहेका बालेनबारे नयाँ नयाँ खुलासासमेत हुन थालेको छ । वरिष्ठ पत्रकार किशोर नेपालले बालेन शाहलाई पूर्व राजा ज्ञानेन्द्रको समर्थन रहेको र उनी राप्रपाको मान्छे भएको आरोप लगाएका छन् ।

उनले बालेन शाह राजावादी दल राप्रपाका समर्थक रहेको र बालेनले पनि राप्रपासँग समर्थन लिएकोसमेत भनेका छन् । एक टेलिभिजन कार्यक्रममा वरिष्ठ पत्रकार नेपालले बालेन हिन्दु धर्मका प्रचारक रहेको र स्वयंले पनि त्यो कुरा भनेर हिँडेको बताएका छन् ।

वरिष्ठ पत्रकार किशोर नेपालको भनाईसँग ठ्याक्कै मेल खानेगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीलेसमेत त्यस्तै अभिव्यक्ति दिएका छन् । प्रवक्ता शाहीले बालेनलाई राप्रपाबाट मेयरको उम्मेदवार बनाउनेबारे तयारीसमेत भएको खुलासा गरेका छन् ।

उनले भनेका छन्, ‘बालेन शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लड्ने भन्ने कुरा म आफू स्वयंले कुरा राखेको थिएँ । यो कुरा बालेन शाहसँग पनि भएको थियो । पछि भेट्ने कुरा पनि भएको थियो । तर म बिजि भएर कुरा गर्न पाईनँ ।’

आफूले बालेनलाई राप्रपाबाट उम्मेदवार बनाउनेबारे सोचेको भए पनि मदनदाश श्रेष्ठ राप्रपाको सदस्य हो भन्नेसम्म थाहा नभएको र पछि संचारमाध्यमबाट मात्रै उनी उम्मेदवार बनेको थाहा भएको बताए ।

उनले बालेनलाई काठमाडौं महानगरपालिकाको मेयरमा राप्रपाबाट उम्मेदवार बनाउन नसक्नु गम्भीर कमजोरी भएकोसमेत बताएका छन् । उनले आगामी दिनहरुमा यस्ता विषयमा समिक्षा गरेर अघि बढ्न नेतृत्वलाई सुझावसमेत दिएका छन् ।

राप्रपा प्रवक्ता शाहीले महानगरपालिका, नगरपालिका र अरु पालिकाहरुमा उम्मेदवार छनोट गर्दा कमजोरी भएकोले अब आउने संसदीय चुनावमा यस्तो गल्ती नदोहोर्याउने प्रतिवद्धतासमेत जनाएका छन् ।

आफूहरु युवालाई अघि बढाउनुपर्ने पक्षमा रहेको भएपनि पार्टीले त्यतातिर राम्रोसँग ध्यान दिन नसकेको भन्दै उनले अबका दिनहरुमा गम्भीर समिक्षा गरेर अघि बढ्ने र मंसिरमा हुने संसदीय चुनावमा विशेष ध्यान दिएर उम्मेदवार छनोट गरिने बताए ।

हेर्नुहोस् न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा गरिएको कुराकानी

प्रतिक्रिया दिनुहोस