Latest News

कांग्रेसका यी भाईरल उम्मेदवार विजयी

Nepalese Times May 18, 2022 (2 Year ago)    1317 Views

काठमाडौं । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर १० का कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृत खनाल विजयी भएका छन् ।

खुट्टामा पैसा राखेर ढोगेको फोटो सामाजिक संजालमा भाईरल भएपनि उनी चर्चामा आएका थिए । उनले आफूले मतदाताको खुट्टामा पैसा राखेर ढोगेको कुरा गलत भएको पछि स्पष्टिकरण नै दिनुपरेको थियो ।

खुट्टामा पैसा राखेर मतदाता आफ्नो पक्षमा पार्न खोजेको आरोप लागेका उनी १ हजार ४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका टेकबहादुर तामाङले ९ सय ४८ मत ल्याएका छन् ।

मेलम्ची नगरपालीका वडा नम्बर १० मा नेपाली कांग्रेस एक्लै र बाँकी चार दल एमाले, राप्रपा, माओवादी र समाजवादीबीच गठबन्धन भएको थियो । खनालले घरदैलो अभियानमा फुपूले टिका लगाएर आशिर्वाद दिएपछि गोडामा पैसा राखेर ढोगेको फोटो भाइरल भएको थियो ।

विपक्षीहरुले उम्मेदवारी नै खारेज गर्नुपर्छ भनेर निर्वाचन आयोगमा उजुरी दिएका थिए । चितबुझ्दो स्पष्टीकरण दिएपछि निर्वाचन आयोगले उनीमाथि कारबाही रोकेको थियो ।

बुधबार बिहान ६ बजेसम्मको परिणामअनुसार ४०५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा सबभन्दा बढी १८५ पालिका जितेर कांग्रेस पहिलो, ११५ स्थानमा जितेर एमाले दोस्रो र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८२ स्थान जितेको छ ।

यस्तै नेकपा (एकीकृत समाजवादी) ले ६, जनता समाजवादी पार्टीले ५ स्थान जित्दा अन्यले १२ पालिकामा जित हासिल गरेका छन् । गणना बाँकी रहेका पालिकाहरुमा ठूला दलहरुले नै अग्रता लिइरहेका छन् ।

कांग्रेस १२९, एमाले ८३, माओवादी केन्द्र ३३ स्थानमा अगाडि छन् । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत वैशाख ३० गते मतदान भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस