काठमाडौं । भरतपुर महानगरपालिकामा २५३५८ मतगणना गर्दा सत्ता गठबन्धनबाट माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले प्रतिस्पर्धीभन्दा एघार सय मतले अग्रता लिइरहेकी छन्।
अहिलेसम्म दाहालले ९०११ ल्याएकी छन्। उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले भने ७८९२ पाएका छन्। नेपाली कांग्रेसका वागी तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४११२ ल्याएका छन्।
उपमेयरमा पनि गठबन्धन नै अघि छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १०७७४ मत ल्याएर अग्रस्थानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकि हिमला गुरूङले ६४५४ मत ल्याएर उनलाई पछ्याइरहेकी छन्।
यस्तै काठमाडौं महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले १५ हजार भोट कटाएका छन् । ३९,५२० भोट गणना हुँदा बालेनले १५,४०२ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापित ८, २८८ भोटमा सीमित भएका छन् ।
त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ७, २९० भोट ल्याएकी छन् । काठमाडौंमा वडा नम्बर पाँचको मतगणना सकिएको छ ।
अहिलेसम्म देशभरका ७५३ मध्ये अहिलेसम्म ४०५ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । आधाभन्दा बढी पालिकाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।
बुधबार बिहान ६ बजेसम्मको परिणामअनुसार ४०५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा सबभन्दा बढी १८५ पालिका जितेर कांग्रेस पहिलो, ११५ स्थानमा जितेर एमाले दोस्रो र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८२ स्थान जितेको छ ।
यस्तै नेकपा (एकीकृत समाजवादी) ले ६, जनता समाजवादी पार्टीले ५ स्थान जित्दा अन्यले १२ पालिकामा जित हासिल गरेका छन् । गणना बाँकी रहेका पालिकाहरुमा ठूला दलहरुले नै अग्रता लिइरहेका छन् ।
कांग्रेस १२९, एमाले ८३, माओवादी केन्द्र ३३ स्थानमा अगाडि छन् । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत वैशाख ३० गते मतदान भएको थियो ।