काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छिन् । झण्डै २२ हजार भोट गनेर सकिँदा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ७ हजार ४२३ मत पाएकी छन् ।
नेकपा एमालेका विजय सुवेदीले ७ हजार ६८ मत पाएका छन् । दाहालले सुवेदीको भन्दा ३५५ मत बढी पाएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ५९४ मत प्राप्त गरेका छन् ।
उपमेयरतर्फ गठबन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ८ हजार ९८९ मत पाएर अग्रता कायम राखेका छन् । एमाले–राप्रपाकी साझा उम्मेदवार हिमला गुरुङले ५ हजार ८४० मत प्राप्त गरेकी छन् ।
भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।
यस्तै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको क्षेत्र काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ को मतगणना भइरहेको छ । यो वडामा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । यो वडा कांग्रेस नेता तथा मेयर उम्मेदवार सिर्जना सिंहका श्रीमान् प्रकाशमान सिंहको निर्वाचन क्षेत्रमा पर्छ ।
प्रारम्भिक मत परिणाम अनुसार बालेनले ७३ भोट पाउँदा सिर्जना सिंह दोस्रोमा छिन् । उनले बालेनलाइ पछ्याउँदै ६२ मत पाएकी छन् । एमालेका केशव स्थापितले ३२ मत पाएका छन् ।
उपमेयरको प्रतिस्पर्धामा पनि एमालेकी सुनिता डंगोल नै अगाडि छन् । उनले ५१ भोट ल्याउँदा नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठलाई ३२ भोट आएको छ ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाको वडा काठमाडौं महानगरपालिका –३० को मतगणना चलिरहेको छ । थापाको वडामा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । काठमाडौं–३० को ६ सय मत गन्दा बालेनले २३३ मत पाएका छन् ।