Latest News

ललितपुरमा कांग्रेसले माओवादीलाई धोका दिएको हो ? यसो भन्छन् चिरीबाबु महर्जन

Nepalese Times May 17, 2022 (2 Year ago)    784 Views

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयर उम्मेदवार चिरीबाबु महर्जनले ललितपुरमा कांग्रेसले माओवादी केन्द्रलाई धोका नदिएको प्रतिक्रिया दिएका छन् ।

माओवादी केन्द्रलाई जनताले नै मत नदिएको भन्दै उनले नेपाली कांग्रेसले माओवादी केन्द्रलाई धोका दिएको कुरा सरासर गलत भएको बताए ।

गठबन्धनबाट मेयरमा पूर्ण सहयोगसहित मतदान हुँदा उपमेयरमा भने बदमासी भएको भन्दै आलोचना भइरहेको समयमा मेयर उम्मेदवार महर्जनले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

ललितपुरको मेयरमा महर्जनको मत अग्रता बढ्दै जाँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमेयर उम्मेदवार बाबुराज बज्राचार्यले कांग्रेसको उम्मेदवार नै नभएको पदमा भन्दा थोरै मत पाएका छन् ।

चुनाव प्रचारप्रसार, घरदैलो र कोठे बैठकमा माओवादी र आफूहरु सँगै रहेको भन्दै उनले आफूले मत पाउने, तर माओवादीको साथीले नपाउने हुनु दुःखद् भएको बताए ।

गठबन्धनबाट ललितपुर महानगरमा माओवादीले मत नपाउनुमा दुई कारण रहेको भन्दै उनले पहिलो जनताले नै माओवादीलाई मत नदिएको हुनसक्ने र दोस्रो भने निर्वाचन आयोगले मतदाता शिक्षा दिन नसक्दा गठबन्धनले अपेक्षाकृत मत नपाएको बताए ।

रुख भए सात छाप रुख र सूर्य वा अर्को कुनै दल भए सबै सातै छाप सोही दलमा आएको पाइएको भन्दै उनले ललितपुर महानगरको मतपत्रमा प्रायः एकछापे भोट खसेको बताए ।

कांग्रेसको उम्मेदवार नै नभएको उपमेयर पद, गठबन्धनको तर्फको उम्मेदवारी नै नदिएको दलित महिला सदस्य पदमा धेरै मत खसेको पनि महर्जनले बताए ।

उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्य अगाडी आएका छन् । पछिल्लो मत परिणाम अनुसार ललितपुर महानगरको मेयरमा महर्जनले ८ भन्दा धेरै मत पाएर अग्रस्थानमा रहेका छन् । उनलाई झिनो मतका साथ नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार अघि बढेका छन् ।

 

प्रतिक्रिया दिनुहोस