Latest News

चितवन अपडेट : प्रचण्डको निर्वाचन क्षेत्रमा एमालेको सानदार जित, गठबन्धन पराजित

Nepalese Times May 17, 2022 (2 Year ago)    586 Views

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा एमालेले जित निकालेको छ । यसअघि माओवादीले जितेको माडीको मेयरमा यसपटक एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छन् ।

निवर्तमान उपमेयरसमेत रहेकी ताराकुमारीले ९ हजार ९०१ मत प्राप्त गरेर मेयर जित्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका ऋषिराम काफ्लेले ७ हजार ७२९ मत पाएका छ्न् । उपमेयरमा भने नेपाली कांग्रेसका खेमप्रसाद महतो ६ हजार ८३० मतले जितेका छन् ।

त्यस्तै भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । १९ हजार १८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ४३९ मत पाएकी छन् ।

नेकपा एमालेका विजय सुवेदीले ६ हजार २७२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १४९ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ८४९ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार १५२ मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

अहिलेसम्म २६८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। जसमध्ये १२० स्थानीय तहमा नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ । कांग्रेसले परिणाम आएकामध्ये करिब ४५ प्रतिशत पालिकाको नेतृत्व जितेको हो ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले ७७ स्थानीय तहमा नेतृत्व जितेको छ । एमालेले परिणाम आएकामध्ये करिब २९ प्रतिशत पालिकाको नेतृत्व जितेको छ । तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले ५६ स्थानीय तह अर्थात करिब २१ प्रतिशत स्थानीय तहमा नेतृत्व जितेको छ ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समान ४ स्थानीय तहमा नेतृत्व लिएका छन् । त्यस्तै पाँच स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले नेतृत्व जितेका छन् । नेमकिपा र राष्ट्रिय जनमोर्चाले १–१ पालिकाको नेतृत्व जितेका छन् ।

प्रतिक्रिया दिनुहोस