काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको प्रमुखका लागि झण्डै ३० हजार ८४ मतपत्रको गणना सकिएको छ ।
अहिले वडा नं ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मत गणना भइरहेको छ । हालसम्म मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रतालाई निरन्तरता दिएका छन् । उनले अहिलेसम्म ११ हजार ४७७ मत प्राप्त गरेका छन् ।
उनलाई पच्छ्याइरहेका एमाले उम्मेदवार केशव स्थापितले ६ हजार २९० मत पाएका छन् भने गठबन्धनबाट कांग्रेस उम्मेदवार सिर्जना सिंहले ५ हजार ४९२ मत प्राप्त गरेकी छिन ।
उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोलले मतान्तर थप फराकिलो बनाउँदै लगेकि छिन् । उनले हालसम्म ११ हजार ३२५ मत पाएकी छिन् । गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ३१६ मत पाएका छन् ।
रोचक त के छ भने काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिएकामध्ये १९ उम्मेदारले हालसम्म एक मत पनि पाउन सकेका छैनन् । यसरी शून्य मत ल्याउनेमा चुनाव चिह्नहरु कलमको फूल, ब्याडमिन्टन कर्क, हाँस, सेफ्टी पिन, बिरालो, प्रेसर कुकर, चुलेसी, भ्यागुतो, कक प्लेट, ठेकी, जोडी कमबुट, भालु, घण्टाघर, कंगारु, फ्रक, चौबन्दी चोलो, खसीको टाउको, बदेल र ग्यास सिलिन्डर भएका पाएका उम्मेदवारहरु रहेका छन् ।
यस्तै एक मत मात्रै ल्याउने उम्मेदवार पनि उल्लेख्य देखिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार मध्याह्न सार्वजनिक गरेको विवरण अनुसार वडा नम्बर १,२,३,४,५,६, ३१ र ३२ को मतगणना गर्दा यस्तो तथ्य देखिएको हो । काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा गत शनिबारदेखि जारी छ ।
त्यस्तै सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार ८८२ मत बदर भएको हो । हालसम्म स्वतन्त्र हैसियतमा लौरो चुनाव चिह्न लिएर मेयर पदमा प्रतिस्पर्धा गरिरहेका बालेन शाहले अग्रता बनाइरहेका छन् । उनको निकै पछि एमालेका उम्मेदवार केशव स्थापित रहेका छन् । स्थापित भन्दा पनि पछि काँग्रेस उम्मेदवार सिर्जना सिंह परेकी छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेको बताएका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै गठबन्धनका घटकबाट पनि राम्रो सहकार्य नपाएको टिप्पणी गरे ।
‘अहिलेसम्मको निर्वाचन परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्ने जति छैन । कतिपय ठाउँमा राम्रै अवस्था पनि छ,’ उनको भनाइ छ, ‘अझै पनि हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं । हामीसँग गठबन्धन दलका घटकहरुले राम्ररी सहकार्य गर्न चाहेनन् ।’
नेपालले निर्वाचन र गठबन्धनबीच सहकार्यको गम्भीर समीक्षा आफूहरुले गर्ने समेत बताएका छन् । ‘हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्ने छौं,’ उनको भनाइ छ, ‘हामीले गठबन्धन कार्यको पनि समीक्षा गर्नेछौं । समीक्षा गरेर हामीले कहाँ राम्रो गर्यौं, कहाँ त्रुटि गर्यौं त्यसको समीक्षा गर्ने छौं ।’