काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको छ। उपमेयरमा भने सुनिता डंगोलको लगभग जित सुनिश्चित जस्तै रहेको छ।
उपमयेरमा नेकपा एमालेकी सुनिता डंगोल आफ्ना विपक्षीभन्दा तीन गुणा बढी मतले अघि छिन्। पछिल्लो मत परिणामअनुसार सुनिताको ९४२१ मत छ। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको २६६४ मत छ। सुरूआती चरणमै धेरै मतान्तर भएपछि उपमयेरमा डंगोलले सजिलै बाजी मार्ने बाहिर अड्कल हुन थालेको छ।
डंगोलले आफूले पाएको मत काठमाडौंवासीको माया र विश्वास रहेको प्रतिक्रिया दिएकी छन्। जति भोट बढ्दै जान्छ, त्यति जिम्मेवारी थपिएको महसुस हुँदै गएको उनको अनुभव छ ।
यो जनताको माया र आशीर्वाद हो । एमालेजस्तो जनतामाझ स्थापित पार्टीको उम्मेदवार हुन पाउनु नै मेरो लागि सबैभन्दा ठूलो कुरा थियो । यसका अतिरिक्त मैले विगतदेखि गर्दै आएको कामलाई समेत हेरेर मेरो क्षमतामाथि विश्वास गरेर भोट दिनुभएको जस्तो लाग्छ । यो माया र विश्वासप्रति म अत्यन्त अनुगृहीत छु ।
उपमेयरमा डंगोलले उल्लेखित मत पाइरहँदा एमालेबाटै मेयर उम्मेदवार केशव स्थापितले भने उनको जसरी मत पाइरहेका छैनन्। डंगोलले झन्डै १० हजार मत पाउँदा स्थापितको ५८४१ मत छ। उनलाई स्वतन्त्र उम्मेदवार बालेन शाहले पाँच हजार बढी मतले पछि पारेका छन्।
बालेनले सुरूदेखि जसरी अग्रता लिइरहेका छन्, बाहिर मानिसहरूमा उनले नै मेयर जित्ने कुराकानी हुन थालेको छ। डंगोल भने मेयरको नतिजा अहिले नै अनुमान गर्न नसकिने बताउँछिन्।
धेरै मतगणना भइसकेको छैन। मेरै हकमा पनि म धेरै रोमाञ्चित भएकी छैन। त्यसैले अहिले नै ‘कन्क्लुजन’ मा पुग्नु हुँदैन। डंगोलले अझै धेरै मत गन्न बाँकी रहेको उल्लेख गर्दै मेयरमा एमालेकै जित हुने बताइन्। ‘मलाई हामी राम्रोसँग कमब्याक गर्छौं भन्ने लाग्छ। धैर्य साथ कुरिरहेकी छु। म अझै आशावादी छु,’ उनले भनिन्।
अहिले केही वडाहरूको मात्र गणना भइरहेको भन्दै सबै ठाउँमा एउटै पक्षको वर्चस्व नहुने डंगोलको भनाइ छ। केशव स्थापित आफैंले पनि आफ्नो जित सुनिश्चित रहेको प्रतिक्रिया दिइसकेका छन्। उनले यसअघि सेतोपाटीसँग कुरा गर्दै आफूले जित्ने र बालेन शाह तेस्रो हुने बताएका छन्।