काठमाडौं । काठमाडौंसहित ६ वटै महानगरपालिकामा नेकपा एमाले पछि परेको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अत्याधिक मतान्तर बनाएका छन् भने अरु महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।
ललितपुर र विराटनगरमा नेपाली कांग्रेसले अग्रता लिएको छ। यस्तै पोखरा महानगरपालिकामा सत्ता गठबन्धनकै नेकपा एकीकृत समाजवादीले अग्रता लिदा वीरगन्ज महानगरमा सत्ता गठबन्धनकै जसपाले अग्रता लिएको छ।
यस्तै भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले नै अग्रता लिएको छ। भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहालले झिनो मतको अग्रता लिएकी छन्। काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार बालेन शाहले ९ हजार ६ सय १४ मत पाएका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार १ सय ५७ मत ल्याएर पछ्याइरहेका छन्। उनी शाहभन्दा करिब ४५ सय मत अन्तरले पछि छन्।
भरतपुर महानगरपालिकामा मंगलबार बिहानसम्म १७०३४ मतगणना हुँदा सत्ता गठबन्धनबाट मेयर उम्मदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल ३० मतले अघि छन्।
उनले ५७१८ मत पाएकी छन्। उनका प्रतिष्पर्धी एमालेका विजय सुवेदीले ५६८८ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल २७८८ मत पाएका छन्।
पोखरा महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन्। १८,१२० को मत परिणाम अनुसार धनराजले ७४१४ मत ल्याउँदा एमालेका कृष्ण थापाले ६५४५ मत ल्याएका छन् ।
विराटनगर महानगरपालिकामा हालसम्म १९ हजार ७ सय ८० मत गणना भएको छ। मेयरको उम्मेदवार बनेका कांग्रेसका नागेश कोइरालाले ६६०० मत ल्याउँदै अग्रता कायम गरिरहेका छन्। उनलाई एमालेका सागर थापाले ४८९१ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार उमेश यादवले २०८८ मत ल्याएका छन्। उपमेयरमा एमालेकी शिल्पा कार्कीले ५५७७ मत ल्याएका छन्। जसपाका अरमेन्द्र यादवले ३७८९ मत प्राप्त गरेका छन्।
वीरगन्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। सत्ता गठबन्धनबाट मेयर पदका उम्मेदवार जसपाका राजेशमान सिंहले ५८२७ मत ल्याएर अग्रता लिइरहेका छन्।
उनलाई एमाले–लोसपा गठबन्धनका विजय सरावगीले २५७३ मत ल्याएर पछ्याइरहेका छन्। तेस्रोमा रहेका राप्रपाका गिरिश गिरीले १९० मत पाएका छन्।
ललितपुर महानगरपालिका सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट मेयर उम्मेदवार बनेका नेपाली कांग्रेसका चिरीबाबु महर्जनले हालसम्म ५९८४ मत ल्याएर अगाडि छन्। उनलाई नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २२२० मत ल्याएर पछ्याइरहेका छन्।