Latest News

भक्तपुरको मेयरमा ९ गुणा बढी मत ल्याएर सुनिल प्रजापति विजयी, अरु सबैको जमानत जफत

Nepalese Times May 16, 2022 (2 Year ago)    1101 Views

काठमाडौं । भक्तपुर नगरपालिकाको मेयरमा नेककिपाका सुनिल प्रजापति निर्वाचित भएका छन्। झन्डै ९ गुणा बढि मत ल्याएर उनी विजयी भएका हुन् । अन्तिम मत परिणाम अनुसार सुनिलले २९ हजार २ सय मत पाएका छन् ।

उनका निकतटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका राम प्रसाद कासुलाले ३३५२ मत मात्र प्राप्त गरे। यस्तै उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९६९५ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम् प्रतिष्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत पाएकी छन्।

काठमाडौं उपत्यकाका महानगर तथा नगरपालिकामध्ये राम्रो काम गरेको भनी चर्चा कमाएका मेयरमध्ये सुनिल प्रजापति अग्रपंक्तिमै आउँछन्। भक्तपुरमा परम्परागत शैली जीवित राख्न, भुइँचालोमा ढलेका सम्पदाहरूलाई पुरानै शैलीमा पुनर्जीवन दिन र मासिएका पोखरी ब्युँताउन महत्वपूर्ण काम गरेका प्रजापतिले यसपालि फेरि मेयरमा दोहोरिन चाहेका हुन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उनले गएको कार्यकालमा पूरा गर्न नसकेको कामलाई यसपालि पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । ‘हामीले घोषणापत्रमा उल्लेख भएका लगभग सबै काम पछिल्लो कार्यकालमा पूरा गरेका थियौं। नेपाल सरकारबाट स्वीकृति नपाउँदा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने काम भने अधुरै रह्यो। त्यसलाई अब हामी पहिलो प्राथमिकतामा राखेर काम गर्छौं,’ उनले भने।

भक्तपुर नगरपालिकालाई उनी ‘सांस्कृतिक नगर’ घोषणा गर्न चाहन्छन् जसअनुसार भक्तपुरको पुरानो बस्तीका घरहरूलाई परम्परागत शैलीमा ढाल्ने काम अघि बढेको छ।

यसको निम्ति नगरपालिकाले स्थानीयलाई इँटा, झिँगटी, काठ लगायत सामग्री किन्न ३५ प्रतिशत अनुदान दिन्छ। यस्तै काम पूरै नगर क्षेत्रभरि विस्तार गरेर सिंगो भक्तपुरलाई नै सांस्कृतिक सहर बनाउन चाहेको उनले बताए।

उनको योजनामा सय वर्षपछि भक्तपुर सहर कस्तो हुन्छ भन्ने परिकल्पना पनि छ। त्यो परिकल्पना २० वर्षअघि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले लेखेको किताब ‘सय वर्षपछिको भक्तपुर’ मा आधारित छ।

उक्त परिकल्पनामा नगरभित्र मौलिक शैलीका घरहरू हुनेछन्। सडकमा धुलो फाल्ने सवारी साधन हुने छैन। प्रत्येक घरमा स्थानीयसँगै विदेशी भाषा बोल्ने र खाना बनाउन जान्ने सीप हुनेछ। यसले विदेशी पाहुना नेपाल आउँदा उनीहरूलाई सहज हुनेछ।

‘अहिले नै नगरपालिकाले यसको आधार तयार गर्न नेपाल भाषासँगै चिनियाँ, जापानी भाषाहरू सिकाइरहेको छ। डकर्मी, सिकर्मी र आर्किटेक्टको तालिम दिइरहेको छ,’ उनले भने, ‘भोलिका निम्ति हामीले अहिलेबाटै आधार तयार पारिरहेका छौं।’

बाहिरी मुलुकबाट आएका पर्यटकलाई भक्तपुर पुगिएन भने नेपाल आएजस्तो नलाग्ने सहर बनाउने उनको योजना छ। २०७२ को भुइँचालोताका भक्तपुर नगरपालिकामा १२० वटा सम्पदा क्षति भएको रेकर्ड थियो। ती सम्पदा लगभग सबै पुनर्निर्माण गर्नुका साथै थप उत्खनन र जिर्णोद्धारका कामहरू गरेको प्रजापति बताउँछन्।

‘त्यति बेला सम्पदा निर्माण गर्दा नगरपालिकाले विदेशीको सहयोग लिएन, सरकारको हात थापेन। स्थानीयसँग हातेमालो गर्दै उपभोक्ता समिति बनाएर काम गर्यो। कसैले नगद, जिन्सी सहयोग गरे त कसैले श्रमदान गरे। आगामी सम्पदा निर्माण पनि यसरी नै हुनेछ,’ उनले भने।

‘हामीकहाँ ज–जसले सम्पदा निर्माणमा काम गरे, उनीहरूको दस्तावेज नै बनाउने तयारी पनि गरिरहेका छौं। त्यसो भयो भने पछिल्ला पुस्ताले मेरो आमाबुवाले त्यो मन्दिर बनायो, त्यो पोखरी बनायो भनेर गर्व गर्न सक्नेछन्। अनि उनीहरूका पछिल्ला पुस्ताले पनि सिक्नेछन्।’

शिक्षातर्फ उनी सामुदायिक शिक्षालाई स्तरिय बनाउन चाहन्छन्। धेरैले सामुदायिक शिक्षा नराम्रो ठान्ने र निजीमा नभए मात्र सामुदायिकमा पढाउने प्रवृत्ति हटाउने उनको योजना छ। आर्थिक अवस्थाका कारण उच्च शिक्षा लिन नपाएकाहरूलाई नगरपालिकाले शैक्षिक ऋण दिँदै आएको छ। आगामी कार्यकालमा यसलाई थप विस्तार गर्ने उनले बताए।

शिक्षासँगै विद्यार्थीहरूको मौलिक हक खेलकुद हो भन्ठान्ने प्रजापतिले विद्यालयको पाठ्यक्रममा ६ वटा खेलकुद समावेश गरेका छन्। त्यसको आधार अघिल्लो कार्यकालमै तयार गरिसकेकाले अब बढीभन्दा बढी खेलकुद प्रतियोगिता र सांस्कृतिक प्रतियोगिताहरू आयोजना गर्ने उनको योजना छ।

स्वास्थ्य क्षेत्रतर्फ गएको कार्यकालमा उनको नगरले घरघरमा नर्स पठाएर घरदैलो नर्सिङ सेवा दिएको थियो। त्यसबाट आर्थिक अवस्थाका कारण अस्पताल जान नसकेका जनताका धेरै समस्या थाहा भएको उनी बताउँछन्।

पछिल्लो कार्यकालमा भक्तपुरले गरेका कामलाई धेरैले प्रशंसा गरेको उनी बताउँछन्। गएको चुनावमा प्रजापति २५ हजार ७ सय ३० मत ल्याएर मेयर निर्वाचित भएका थिए। उनीसँग अन्य पार्टीको मतान्तर करिब २० हजार हाराहारी थियो।

प्रतिक्रिया दिनुहोस