Latest News

भरतपुरमा फेरि रेनु अगाडि, विजय सुवेदी कति मतले पछाडि ?

Nepalese Times May 16, 2022 (2 Year ago)    1047 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा कसले बाजी मार्ला भन्ने आम चासो बढिरहेको छ । यो महानगरपालिकामा सुरुदेखि नै नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालबीच कडा टक्कर भइरहेको छ ।

कहिले रेनु त कहिले सुवेदी अगाडि–पछाडि भइरहेका छन् । अहिलेसम्म यो महानगरपालिकामा १० हजारभन्दा धेरै मत गणना हुँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल अगाडि आएकी छिन् ।

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले ३ मतले उछिनेकी छन् ।

१० हजार २०६ मत गन्दा सुवेदीले ३ हजार ५७५ मत पाएका छन् भने उनलाई ३ मतले जितेकी रेनुले ३ हजार ५७८ मत पाएकी छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३६० मत पाएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४३ मत पाएर अग्रता लिएका छन् भने राप्रपाका हिमला गुरुङले २ हजार ८१६ मत पाएकी छन् ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

यस्तै काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतको अग्रता हासिल गरेका छन् । मतगणनामा बालेनले ३८३४ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले १९९६ मत ल्याएका छन् ।

मतगणनाको प्रारम्भदेखि नै अग्रता लिएका बालेनले क्रमशः अन्तर बढाइरहेका छन् । तेस्रो स्थानमा रहेकी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १८०२ मत प्राप्त गरेकी छिन् । अहिले काठमाडौंको १, २, ३, ४, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

मतगणना स्थलमा खटिएका नेपाली कांग्रेस र एमालेका दलीय प्रतिनिधिहरु प्रारम्भिक मत गणनाको नतिजामा मेयर पदमा खसेको मतका कारण निराश देखिन्छन् ।

काठमाडौं मेयर पदमा अहिल्यै बालेनले जित्छन् भन्न सकिने अवस्था नरहे पनि मतदाताले हालेको भोटको शैलीले आफ्नो उम्मेदवारको जितलाई कठिन देखाएको एक प्रतिनिधिले बताए ।

प्रतिक्रिया दिनुहोस