Latest News

बालेन शाहको हार जितलाई लिएर दुई युवाले राखे २८ किलोको खसी बाजी, कागज नै गरे

Nepalese Times May 15, 2022 (2 Year ago)    4507 Views

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई पछि पार्दै शाह अगाडि आएका हुन् ।

शाहले अग्रता बढाउँलै लैजाँदा उनको चर्चा झनै चुलिँदै गएको छ । अग्रता लिएसँगै काठमाडौं महानगरमा बालेनले चुनाव जित्ने केहीको आकलन छ भने केहीले अग्रता बढाउँदै लगे पनि चुनाव निजित्ने बताइरहेका छन् ।

काठमाडौंमा कसले जित्ने भन्ने विषयमा खोटाङमा भने दुई जनाले बाजी नै राखेका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र विजय फुयालले कागज नै गरेर बाजी राखेका हुन्।

बालेन शाह महानगर प्रमुखमा विजयी भए रमेशले २८ केजीको खसी विजयलाई दिने भएका छन्। बालेन शाह हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्ने कागज गरेका हुन्।

उनीहरुले अन्य व्यक्तिको रोहवरमै कागज गरेका हुन् । तर, यसरी बाजी राख्नु गैरकानुनी हो। लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका बालेनले एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै अग्रता लिइरहेका छन्।

बालेनले आइतबार दिउँसो १२ बजेसम्म २६०१ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले १४१५ मत प्राप्त गरेका छन्। अहिले पनि मतगणना भइरहेको छ ।

काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेका पाँच वटै वडा हरेकमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेल शाहले अग्रता लिएका छन्। अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेकामा यी सबै वडामा बालेनले अग्रता लिएका हुन्।

यी पाँचै वडामा २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवारले जितेका थिए। यसपालि ३२ वडामध्ये भित्री नेवार वस्ती बाहेकका २० वडामा बालेन शाहको जबरजस्त आकर्षण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस