Latest News

एमाले सचिव पद्मा अर्यालका श्रीमान वडासदस्यमै पराजित

Nepalese Times May 15, 2022 (2 Year ago)    1281 Views

स्याङ्जा । नेकपा एमालेकी सचिव पद्मा अर्यालका श्रीमानले पराजय बेहोर्नुपरेको छ ।

तत्कालिन केपी ओली सरकारको भूमि सुधार मन्त्री समेत रहेकी अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा उम्मेदवार बनेका थिए ।

वालिङ नगरपालिका वडा नम्बर एकबाट अर्यालका श्रीमान लक्ष्मीपति पौडेल सदस्य पदमा पराजित भएका हुन् । करिब पाँच सयको मतान्तरसहित नेपाली काङ्ग्रेसका २६ वर्षीय शम्भव अर्याल निर्वाचित भएका हुन् ।

पद्माले आफ्ना श्रीमानलाई जिल्ला समन्वय समितिको संयोजक पद दिलाउने गरि वडा सदस्यमा उठाइएको थियो । निर्वाचनमा पराजित भएपछि उनले सामाजिक सञ्जालमा सद्भाव बटुल्ने कोशिस गरेका छन् ।

उनले लेखेका छन्, ‘चुनावमा गएपछि हार जित भै हाल्छ। जितेको अबस्थामा जनताकै काम गर्ने हो,हारेको अबस्थमा जितेकालाई जनताको काम गर्न लगाउने हो । सबै साथीहरु धैर्य बनौं। निर्वाचन अभियानमा सहयोग गर्नुहुने र मतदान गर्नुहुने सबैमा हार्दिक आभार सहित धन्यवाद ।’

। स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना चलिरहेको छ । मतगणनाको ताजा विवरण आउने क्रम जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले सबैभन्दा धेरै ठाउँमा जितेको छ भने नेपाली कांग्रेस दोस्रो नम्बरमा रहेको छ । एमालेले ९ पालिकामा र कांग्रेसले ८ पालिकामा जित हाँसिल गरेको हो ।

निर्विरोध भएकासहित २२ पालिकाको नतिजा सार्वजनिक हुँदा नेकपा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका, मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका र मनाङको चामे गाउँपालिका जितेको छ ।

यस्तै नेकपा एमालेले वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ, लोमन्थाङ गाउँपालिका मुस्ताङ, डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध), बझाङको साइपाल गाउँपालिका र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका जितेको छ ।

यस्तै नेपाली कांग्रेसले गुल्मीको गुल्मीदरबार गाउँपालिका, डडेलुधराको गन्यापधुरा गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका र मनाङको नार्पाभूमि गाउँपालिका जितेको छ ।

यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका, मनाङको नासो गाउँपालिका, गुल्मीको गुल्मीदरबार गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका र डोटीको बडीकेदार गाउँपालिका कांग्रेसले जितेको छ ।

नेकपा माओवादी केन्द्रले दैलेखको नौमुले गाउँपालिका, डोल्पाको जगदुल्लाह गाउँपालिका र बाग्लुङको ताराखोला गाउँपालिका जितेको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका र डोल्पाको छार्का साङतोङ गाउँपालिका जितेको छ । यी दुबै गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस