Latest News

काठमाडौं महानगर : ६५ सय मत गन्दा कसले कति मत ल्याए ?

Nepalese Times May 15, 2022 (2 Year ago)    1020 Views

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन्।

६ हजार ४७३ मतगणना हुँदा शाहले २४५७ मत प्राप्त गरेका छन्। त्यस्तै, एमालेका उम्मेदवार केशव स्थापितले १४२७ मत प्राप्त गरेका छन्। गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ११६८ मत प्राप्त गरेकी छिन्।

काठमाडौंको वडा नं १, २, ३, ४ र ३२ मा मतगणना भइरहेको हो। वडा नं १ बाट बालेनले ५१५, वडा नं २ बाट ५३०, वडा नं ३ बाट ३०५, वडा नं ४ बाट ५३० र वडा नं ३२ बाट ५७७ मत ल्याएका छन्।

त्यस्तै, स्थापितले वडा नं १ बाट २६१, वडा नं २ बाट ३१३, वडा नं ३ बाट २९२, वडा नं ४ बाट २६२ र वडा नं ३२ बाट २९९ मत प्राप्त गरेका छन्। सिंहले वडा नं १ बाट ३३२, वडा नं २ बाट १७७, वडा नं ३ बाट १६८, वडा नं ४ बाट २३८ र वडा नं ३२ बाट २५३ मत प्राप्त गरेकी छिन्।

राजधानीको सभागृहमा मतगणना जारी छ। स्वतन्त्र उम्मेदवार बालेनले मतान्तर बढाउँदै जाँदा काठमाडौंको मतगणना झनै रोचक बन्दै गएको छ।

स्वतन्त्र उम्मेदवार बालेन शाहको ‘क्रेज’ पनि ह्वात्तै बढिरहेको छ । यो पटकको स्थानीय तहको चुनावमा एमालेका स्थापित र कांग्रेसकी सिंहलाई बालेन शाहका कारण अप्ठ्यारो अवस्था आउन सक्ने देखिएको छ ।

काठमाडौं महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार सिर्जना सिंह, नेकपा एमालेका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले उम्मेदवारी दिएका छन् ।

पाँच वर्षअघिको चुनावमा एमाले मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीलाई झन्डै २० हजार मतले हराएका थिए। त्यतिखेर काठमाडौंका मुख्य नेवार बस्तीहरूबाट विद्यासुन्दरले आफूभन्दा १२ हजार बढी मत ल्याएको जोशी बताउँछन्।

एमाले नेता तथा सांसद रामवीर मानन्धरले पनि एमालेले त्यो बेला कोर–सिटीबाट १२ हजार बढी मत ल्याएको पुष्टि गरे। यसरी कोर–सिटीको नेवार समुदायबाट कम मत पाएकै कारण जोशीले कांग्रेसकै उपमेयर हरिप्रभा खड्गीभन्दा कम मत ल्याएका थिए।

खड्गीले ५८ हजार भोट ल्याउँदा जोशीले ४५ हजार मात्र पाएका थिए। शाक्यले मेयरमा पाएको ६५ हजार भोट उपमेयरमा खड्गीले पाएभन्दा ७ हजार जति मात्रै धेरै हो।  यसैगरी ललितपुरको मतगणना पनि भइरहेको छ । ललितपुरमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन अगाडी छन् ।

प्रतिक्रिया दिनुहोस