Latest News

भरतपुर १ को मतगणना सकियो, यस्तो आयो मतपरिणाम

Nepalese Times May 15, 2022 (2 Year ago)    1657 Views

काठमाडौं । भरतपुर महानगरपालिकामा वडा नम्बर १ को मतगणना सकिएको छ। वडा नम्बर १ को ३२७७ मत गणना हुँदा सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम रहेको छ ।

सत्ता गठबन्धनकी उम्मेदवार दाहालले १२०८ मत पाएकी छन्। एमाले र राप्रपाका साझा उम्मेदवार विजय सुवेदीले १०८७ मत ल्याएका छन्।

बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलको ४३० मत आएको छ। उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले १३६५ मत रराप्रपाकी हिमला गुरूङले ८७७ मत पाएका छन्। वडाध्यक्षमा कांग्रेसका केशव महर्जन विजयी भएका छन्। उनले एमालेका शुक्रकुमार श्रेष्ठलाई ८४ मतले हराएका छन्।

यस्तै भरतपुर महानगरपालिकाको मतगणनामा एमसीसीविरुद्धको दुई वटा मतपत्र भेटिएको छ । मतपत्रमा ‘एमसीसी मुर्दावाद र दलाललाई मत दिन्नौँ’ भनेर लेखिएको पत्र भेटिएको मतगणना केन्द्रमा रहेका दलका प्रतिनिधिले जानकारी दिए ।

मतगणना सहभागी दलका प्रतिनिधिका अनुसार मतपत्रको बिच भागमा एमसीसी मुर्दावाद र सानो चिटमा दलाललाई मत दिदैनौँ भनेर लेखिएको थियो ।

महानगरपालिकाको मतगणना भरतपुर १० स्थित चितवन उधोग संघको औधोगिक प्रदर्शनी केन्द्रमा भइरहेको छ । जहाँ निर्वाचनमा सहभागी दलका प्रतिनिधि र निर्वाचन आयोगका प्रतिनिधि मिलेर मत गणना गरिरहेका छन् ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

यस्तै नेकपा एमालेले यो पटक भरतपुरमा बलियो उम्मेदवार उठाएको छ । यो पटक देवी ज्ञवालीललाई मेयरको टिकट दिने चर्चा भएपनि अन्तिम समयमा आएर विजय सुवेदीले टिकट पाएका छन् ।

उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरको टिकट लिएर मैदानमा आएका हुन् । स्थानीय चुनावको घोषणा भएदेखि नै तरंगित भरतपुर नयाँ–नयाँ आशंका र अनुमानबाट गुज्रिरहेको छ ।गत स्थानीय निर्वाचनमा सबैभन्दा चर्चामा रहेको महानगरपालिका भरतपुरमा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार बनेकी रेनु दाहाललाई नेपाली काँग्रेसले सघाएको थियो ।

मत गणनाको क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि यो महानगरपालिका चर्चाको शिखरमा रहेको थियो । यसपाली पनि कांग्रेससहित पाँच दलीय गठबन्धनले दाहाललाई नै मेयरमा उम्मेदवारी बनाएका छन् । उपमेयरमा नेपाली काँग्रेसका नगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस