काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना चलिरहेको छ । चर्चामा रहेको काठमाडौं र भरतपुर महानगरपालिकासहित उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा मतगणना भइरहेको हो ।
पछिल्लो मतगणनाअनुसार १७ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । आइतवार बिहानसम्म प्राप्त नतिजाअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले ६/६ पालिकामा जित निकालेका छन्।
यसअघि एमालेले ६ पालिका जितेर पहिलो थियो। तर कांग्रेसले जित्ने क्रममा बढाउँदै लगेर बराबरी गरेको हो। यस्तोमा नेकपा माओवादी केन्द्रले पनि तीन पालिकामा जितेको छ भने नेकपा एकीकृत समाजवादीले २ पालिकामा जितेको छ। मधेसवादी र अन्य दलले खाता खोल्न सकेका छैनन्।।
अहिलेसम्म नेकपा एमालेले मुस्ताङको लोमान्थाङ गाउँपालिका, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, मनाङको मनाङ ङिस्याङ गाउँपालिका, मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका जितेको छ ।
यस्तै एमालेले मनाङको चामे गाउँपालिका, र डोल्पाको शे फोक्सुन्डो गाउँपालिका जितेको छ । डोल्पाको शे फोक्सुन्डो गाउँपालिकामा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवारले गुल्मीको रेसुंगा नगरपालिका, डडेलधुराको गन्यापधुरा गाउँपालिका, मनाङको नासोमा गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका र मनाङको नार्पाभूमि गाउँपालिका जितेको छ ।
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्। उनी १५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत पाएका छन्।
मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहन सिंह लालचन विजयी भएका छन्। लालचनले ७ सय ६० मत ल्याउँदा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत ल्याएका छन्।
मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्। कांग्रेसबाट धनबहादुर गुरुङ ८२० मत ल्याई निर्वाचित भएका हुन्। उपाध्यक्षमा माओवादीका बेदबहादुर गुरुङ ९१३ मत प्राप्त गरेका छन्।
अध्यक्षमा एमालेका मनबहादुर गुरुङ ६४६ मत प्राप्त गरेका छन्। उपप्रमुख स्वतन्त्रबाट अर्विन गुरुङले ४९६ मत ल्याए। गुल्मीको गुल्मीदरबार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सरोज कुमार थापा विजयी भएका छन्।
नेपाली कांग्रेसबाट वडा नम्बर १ मा राजेन्द्र कँडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित भएका छन्।यस्तै गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेसका नगरपालिका प्रमुखका उम्मेदवार खिलध्वज पन्थी ८ हजार ६ सय १४ मत ल्याएर विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे ७ हजार ३ सय २० मत ल्याए । उनलाई एमालेकी रिता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन्। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले जित निकालेको छ। एकीकृत समाजवादीसँग तालमेल गरेर उठेका माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा जित निकालेका हुन्।
दार्चुलाको अपि हिमाल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) एमालेका उम्मेदवार धर्मानन्द सिंह मन्याललाई पराजित गर्दै विजयी भएका हुन्।
माओवादी केन्द्रले डोल्पाको जगदुल्लाह गाउँपालिका अध्यक्ष र नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जितेको छ । यी दुबै गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
मतगणना भैरहेको ठाउँमा कांग्रेसले अग्रता लिएको भएपनि अहिलेसम्मे नेकपा एमालेका उम्मेदवारहरु धेरै ठाउँमा विजयी भएका हुन् ।२६० ठाउँमा कांग्रेसले र १६७ ठाउँमा एमालेले अग्रता लिएको छ । माओवादी केन्द्रले १०३, एकीकृत समाजवादीले १० र जसपाले २३ ठाउँमा अग्रता बनाएका छन् ।