Latest News

गठबन्धन र एमालेलाई हराउँदै चितवनमा उदायो राप्रापा, लामा भए विजयी

Nepalese Times May 15, 2022 (2 Year ago)    963 Views

चितवन । माडी नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा राप्रपाका युवा नेता अमित लामा निर्वाचित भएका छन् । आइतबार बिहान सकिएको मतगणनामा लामाले १ हजार ४ सय ३३ मत पाएका थिए । यसअघि उनी सोही वडाको निर्वाचित वडा सदस्य थिए ।

उनको निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले ९ सय ४३ मत पाए भने नेकपा (एमाले) का उम्मेदवार टिकाराम सुवेदीले १ सय २६ मत ल्याए ।

सो वडामा महिला सदस्यमा पनि राप्रपाकी अप्सरा सुवेदी, दलित महिला सदस्य राप्रपाकै गुना धमला लोहार र एक खुल्ला सदस्यमामा पनि राप्रपाकै दिपेन्द्र महतो निर्वाचित भए । आर्का खुल्ला सदस्यमा भने नेपाली काँग्रेसका जय नारायण लामिछाने विजय भएका छन् ।

त्यस्तै झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएका छन् । अन्जर आलमले पाँच हजार ८१६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कालेन्द्र राजवंशीले पाँच हजार ३५३ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा निमसरी राजवंशीले पाँच हजार ७७४ मत प्राप्त गरी विजयी भए भने उनकी निकटम् प्रतिद्वन्द्वी काँग्रेसकी गीता खरेल ओडारीले पाँच हजार ७७ मत प्राप्त गरिन् । त्यस्तै, सो गाउँपालिकाको वडा नं १, ३, ५ को वडाध्यक्षमा राप्रपाकै क्रमशः लक्ष्मी यादव ८६०, विजयकुमार राजवंशी ८७७ र महेशलाल गशेणले ८३७ मत प्राप्त गरी विजयी भएका हुन् ।

यसैगरी वडा नं २ र ६ को वडाध्यक्षमा एमालेका क्रमशः मेखबहादुर भट्टराई ६७९ र कुलबहादुर कार्कीले ९८९ मत प्राप्त गरी विजयी भएका छन् । वडा नं.४ र ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका क्रमशः परमानन्दसिंह राजवंशीले ७८७ र भरत राजवंशीले ६९५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत देवीबहादुर भण्डारीले जानकारी दिए । कुल २५ हजार ७४९ मतदाता रहेको सो गाउँपालिकामा १९ हजार ५०१ जनाले मतदान गरेका थिए ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयरका उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । उनले आइतबार बिहानसम्म २५८१ गन्दा ९८० मत पाएकी छन्।

यस्तै एमालेबाट मेयर उम्मेदवार बिजय सुवेदीले ८७१ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ११०१ तथा राप्रपाकी हिमला गुरुङले १०१९ मत पाएकी छन् ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस