Latest News

ललितपुरमा माओवादीलाई ‘धोका’, उपमेयर उम्मेदवार नै नभएको कांग्रेसलाई यति धेरै मत

Nepalese Times May 15, 2022 (2 Year ago)    1357 Views

काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। महानगर प्रमुखका लागि खसेको मतमध्ये हजार मतको गणना सम्पन्न हुँदा कांग्रेसका चिरिबाबु महर्जन अगाडि छन्।

उनले १४०० मत गणना सकिँदा ७०६ मत पाएका हुन् । नेपाली काँग्रेसका महर्जनलाई सत्ता गठबन्धनको समर्थन रहेको छ । यस्तै एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ३३६ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमाले अगाडि छ। एमालेका उम्मेदवारले ३ सय ७२ मत ल्याएका छन्। गठबन्धनका उम्मेदवारले २ सय ६७ मत प्राप्त गरेका छन्।

उनी सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन्। साझा उम्मेदवार भए पनि बज्राचार्यले कांग्रेसनिकट मतदाताको मत नपाएको आशंका उब्जिएको छ। निर्वाचन आयोग स्रोतका अनुसार ललितपुरमा १८८ जनाले उम्मेदवार नै नभएको चुनाव चिन्ह ‘रुख’ मा मत दिएको पाइएको छ।

ललितपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, नेपाली कांग्रेसका चिरीबाबु महर्जन, विवेकशील साझा पार्टीका उज्वलकृष्ण श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जन र नेपाल मजदुत किसान पार्टीका अशोक महर्जनले उम्मेदवारी दिएका छन् ।

यस्तै नेकपा मालेबाट मोहन राज शाक्य, जनमत पार्टीबाट बासुदेव अमात्यले उम्मेदवारी दिएका छन् । यस्तै सरिना लाखे (जोशी), सुरेश महर्जन, राजेन्द्र थापा मगर, सनि कपुर महर्जन, सपना श्रेष्ठले पनि मेयर पदमा उम्मेदवारी दिएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका प्रमुखमा कांग्रेसका महर्जन २४ हजार ६४२ मतका साथ विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए।

महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका रमेश महर्जनले १३ हजार ४५८ र नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जनले १० हजार ६६१ मत ल्याएका थिए।

यस्तै महानगरको उपप्रमुखमा विजयी कांग्रेसकी गीता सत्यालले १९ हजार ८१९ मत ल्याएकी थिइन्। उनकी निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार शोभा शाक्यले १४ हजार २४० मत पाएकी थिइन्। महानगरको उपप्रमुखमा माओवादीका हसिना शाक्यले १२ हजार ९७९ र राप्रपाका बाबुकाजी प्रधानले १० हजार ५४० मत ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस