दैलेख । दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रका छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा विजय हासिल गरेका हुन्।
निर्वाचन अधिकृत हरि प्रसाद घिमिरेका अनुसार सुवेदीले ३ हजार २ सय मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले २५४४ भोट प्राप्त गरेका छन्। यस्तै एमालेका उम्मेदवार शशीराम विश्वकर्माले १९२० मत पाएका छन्।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन्। उनले २८३४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी अमृता सिंहले २४०५ भोट पाएकी छन्। उपाध्यक्षमा एमालेकी गिता चन्दले १९१८ मत पाएकी छन्।
यस्तै दार्चुलाको अपि हिमाल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) एमालेका उम्मेदवार धर्मानन्द सिंह मन्याललाई पारजित गर्दै विजयी भएका हुन्। यो सँगै माओवादी केन्द्रले अहिलेसम्म २ वटा स्थानीय तह जितेको छ।
यस्तै माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँ पालिकामा पनि विजयी खाता खोलेको हो। उक्त पालिका अध्यक्ष, उपाध्यक्ष नै माओवादीले जीत निकालेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार पालिकाको अध्यक्षमा नारासिंह रोकाया ६ सय २२ मत ल्याएर विजयी भएका छन्। उपाध्यक्षमा पनि अमरिता बोहरा ६ सय ३४ मत ल्याएर विजयी भइन। जगदुल्लामा काङ्ग्रेस-एमाले-समाजवादी गठबन्धनविरुद्ध माओवादी केन्द्र एकल लडेको थियो।
यस्तै चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका-११ र राप्ती नगरपालिका-६ मा एमालेको प्यानलै विजयी भएको हो ।कालिका-११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी भएका हुन् ।
विजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका छन् । यस अगाडि नै दलित महिला सदस्य भने निर्विरोध निर्वाचित भइसकेकी छन ।
राप्ती-६ को अध्यक्षमा जल्लु महतो थारु १८ सय १६ मत ल्याएर विजयी भए । वडा सदस्यमा एमालेका ममिता कुँवरले १७ सय ५८, राजकुमार तामाङले १६ सय ५३, सहदेव सेढाइले १४ सय ७७ र दलित महिला सदस्य गुनु विकले १७ सय ५२ मत ल्याएर विजयी भएका हुन् ।
एउटा वडाको मतगणना सकिंदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले १५ सय ३२, गठबन्धनबाट नेकपा एसका शमशेर लामाले १२ सय ७८ मत प्राप्त गरेका छन् । त्यस्तै स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना चलिरहेको छ । चर्चामा रहेको काठमाडौं र भरतपुर महानगरपालिकासहित उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा मतगणना भइरहेको हो ।