काठमाडौं । भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल १५ मतले पछि परेकी छिन् । उनीभन्दा अगाडि एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी रहेका छन् । सुवेदीले ६६ मत प्राप्त गर्दा रेनुले ५१ मतमात्र प्राप्त गरेकी छन् ।
उपमेयर पदमा काँग्रेस र राप्रपाका उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ । प्रारम्भिक मतगणनाअनुसार राप्रपाका मेयरका उम्मेदवार काँग्रेसका उम्मेदवार भन्दा पछि परेका छन् ।
उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५७ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ४५ मत पाएकी छन् । भरतपुरमा राप्रपा र एमालेको गठबन्धन रहेको छ भने अर्कोतिर सत्ता गठबन्धन रहेको छ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले मात्र १३ मत पाएका छन् । हालसम्म १५० मत गणना भएको छ । मतगणना भरतपुरमा कडा सुरक्षाका बीच जारी रहेको छ ।
भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।
यस्तै नेकपा एमालेले यो पटक भरतपुरमा बलियो उम्मेदवार उठाएको छ । यो पटक देवी ज्ञवालीललाई मेयरको टिकट दिने चर्चा भएपनि अन्तिम समयमा आएर विजय सुवेदीले टिकट पाएका छन् ।
उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरको टिकट लिएर मैदानमा आएका हुन् । स्थानीय चुनावको घोषणा भएदेखि नै तरंगित भरतपुर नयाँ–नयाँ आशंका र अनुमानबाट गुज्रिरहेको छ ।गत स्थानीय निर्वाचनमा सबैभन्दा चर्चामा रहेको महानगरपालिका भरतपुरमा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार बनेकी रेनु दाहाललाई नेपाली काँग्रेसले सघाएको थियो ।
मत गणनाको क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि यो महानगरपालिका चर्चाको शिखरमा रहेको थियो । यसपाली पनि कांग्रेससहित पाँच दलीय गठबन्धनले दाहाललाई नै मेयरमा उम्मेदवारी बनाएका छन् । उपमेयरमा नेपाली काँग्रेसका नगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै राप्रपासँग गठबन्धन गर्दै नेकपा एमालेले मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, उपमेयरमा राप्रपाबाट हिमाली गुरुङ उम्मेदवार बनेकी छिन् । अघिल्लो निर्वाचनमा दाहालले ४३ हजार १ सय २७ मत र उनका प्रतिद्धन्द्धी नेकपाल एमालेका देवी प्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए ।
उपप्रमुखमा नेपाली कांग्रेसबाट पार्वती शाह ठकुरीले ४७ हजार १ सय ९७ भोट ल्याएकी थिइन भने नेकपा एमालेबाट दिव्य शर्माले ३९ हजार ५ सय २५ मत ल्याएकी थिइन । भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका छन् ।