Latest News

कांग्रेसका बागी उम्मेदवारले कायम गरे अग्रता, एमालेले पछ्याउँदै

Nepalese Times May 14, 2022 (2 Year ago)    1007 Views

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता कायम गरेका छन् ।

नेपाली कांग्रेसबाट राजीनामा दिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहको मतान्तर बढ्दै गएको छ । वडा नम्बर १ को ७ सय ८० वटा मतको गणना गर्दा साहले २ सय ५९ मत प्राप्त गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हिरा’ ले १ सय ५ मत ल्याएका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ६१ मत प्राप्त गरेका छन् ।

यस्तै उप मेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साहले अग्रता लिएकी छन् । उनले ३ सय मत प्राप्त गर्दा एमालेकी रुना झाले १ सय ३५ मत प्राप्त गरेकी छन् ।

यस्तै विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले प्रारम्भिक अग्रता लिएका छन् । भर्खरै सुरू मतगणनामा कोइरालाले २५ मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले ११ मत ल्याएर पछ्याइरहेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ३ मत पाएका छन् ।यो वडा नम्बर १ को सुरुवाति परिणाम हो । १,२,१६,१७,१८ र १९ को गणना एकै साथ भइरहेको छ ।\

यस्तै धनगढी उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । गणना वडा नम्बर १ बाट सुरु गरिएको हो । मतगणना धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनमा भइरहेको हो । धनगढीमा १९ वडा रहेका छन् ।

यसपालि पनि धनगढीमा नेपाली कांग्रेसका नृपबहादुर वड र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यस्तै, नेकपा एमालेबाट रणबहादुर चन्द पनि प्रतिस्पर्धामा रहेका छन् ।

दलसहित र स्वतन्त्र उम्मेदवारले शुक्रबार रातिदेखि नै गणना सुरु गर्न माग गरे पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आजदेखि नै सुरु गर्ने अडान लिएको थियो । ९३ हजार १ सय ५१ मतदाता रहेको धनगढीमा ६३ हजार ७ सय १५ मत खसेको छ ।

 

प्रतिक्रिया दिनुहोस