काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उमेदवारको अग्रता देखिएको छ । नौ सय मत गणना हुँदा स्वतन्त्र उमेदवार बिदुरबहादुर बस्नेतले अग्रता लिएका छन् ।
बस्नेत नेपाली कांग्रेसको नगर सभापति थिए । उनले गठबन्धनको विरोधमा स्वतन्त्र उमेदवारी दिएका थिए । उनै बस्नेतले अहिलेसम्म अग्रता हासिल गरेका छन् । नौ सय मत गणना गर्दा उनले ४०६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा एमालेका उमेदवार अशोककुमार ब्यान्जुले ३४३ मत प्राप्त गरेका छन् भने गठबन्धनका आधिकारिक उमेदवार दयासागर श्रेष्ठले जम्मा १२ मत प्राप्त गरेको पत्रकार मोतिराम तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिकामा कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् । शनिबार बिहानदेखि जारी मतगणनाअनुसार मेयरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहले सुरुवाती अग्रता लिएका छन् । मनोजले ६७ मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका शिवशंकर साहले १८ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार बलराम महतोले १६ मत पाएका छन् । अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले ८ मत पाएका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साहले ५ पाएका छन् । यस्तै, लोसपाका मनोजकुमार चौधरीले ५ मत पाएका छन्।
यसैगरी उपमेयरमा कांग्रेसकी किशोरी साहले ३५ मतका साथ अग्रता लिएकी छिन् । उनलाई पछ्याइरहेकी स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले १० मत पाएका छन् । उपमेयरमा एमालेकी रुना झाले ९ र लोसपाकी रिताकुमारी मिश्रले ६ मत पाएकी छिन् ।
त्यस्तै प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका सात स्थानीय तहमध्ये पाँच स्थानीय तहको मतणना जारी छ ।
जिल्लाको सदरमुकाम समेत रहेको अमरगढी नगरपालिकामा मतगणना जारी छ । स्थानीय पत्रकार टेकराज अवस्थीका अनुसार यहाँ ६०० मतगणना भइसकेको छ ।
अवस्थीका अनुसार उक्त मतगणना गर्दा कांग्रेसका डिल्लीराज जोशीले २७७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस ९बीपी०का हरिप्रसाद भट्टले २४४ मत पाएका छन् । यहाँ नेकपा ९एमाले० र कांग्रेस बीपीबीच तालमेल भएको छ ।
यस्तै रुपन्देहीको एकमात्र उपमहानगरपालिका बुटवल उपमहानगरको वडा नं १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।
उक्त वडामा ४०० मतगणना हुँदा कांग्रेसका नगर प्रमुख पदका प्रत्यासी खेलराज पाण्डेले सुरुआती अग्रता लिएका छन् । उनले २१५ प्राप्त गरेका छन् । राप्रपाका मृगेन्द्रकुमार शेरचनले १७३ र नेकपा एमालेका बाबुराम भट्टराइले ७८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सिद्धार्थनगर नगरपालिकाको वडा नं १ मा ७९२ मत गणना हुँदा कांग्रेसको ३९१ मत, राप्रपाको १६५ मत र एमालेको ६२ मत रहेको छ । अन्य पालिकाबाट पनि प्रारम्भिक परिणाम आउन थालेका छन् ।
जिल्लामा १६ पालिकामध्ये एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन् । शुक्रबार सम्पन्न मतदानमा जिल्लाभरिमा ७१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।
स्थानीय तह निर्वाचनका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदका लागि १७ जनाको उम्मेदवारी परेको छ। मेयरमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायत ८ राजनीतिक दल र ७ स्वतन्त्र गरी १७ जनाको उम्मेदवारी परेको हो।