Latest News

बुटवल उपमहानगरमा एमालेभन्दा कांग्रेस झण्डै तेब्बर मतले अगाडि, कसले कति ल्याए ?

Nepalese Times May 14, 2022 (2 Year ago)    1552 Views

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।

उक्त वडामा ४०० मतगणना हुँदा कांग्रेसका नगर प्रमुख पदका प्रत्यासी खेलराज पाण्डेले सुरुआती अग्रता लिएका छन् । उनले २१५ प्राप्त गरेका छन् । राप्रपाका मृगेन्द्रकुमार शेरचनले १७३ र नेकपा एमालेका बाबुराम भट्टराइले ७८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिकाको वडा नं १ मा ७९२ मत गणना हुँदा कांग्रेसको ३९१ मत, राप्रपाको १६५ मत र एमालेको ६२ मत रहेको छ । अन्य पालिकाबाट पनि प्रारम्भिक परिणाम आउन थालेका छन् ।

जिल्लामा १६ पालिकामध्ये एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन् । शुक्रबार सम्पन्न मतदानमा जिल्लाभरिमा ७१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदका लागि १७ जनाको उम्मेदवारी परेको छ। मेयरमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायत ८ राजनीतिक दल र ७ स्वतन्त्र गरी १७ जनाको उम्मेदवारी परेको हो।

बुटवल उपमहानगरपालिकामा नेकपा एमालेबाट बाबुराम भट्टराई, नेपाली कांग्रेसबाट खेलराज पाण्डेय, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मृगेन्द्रकुमार शेरचन, नेपाल मजदुर किसान पार्टीबाट हरि सुन्दर बासी, राष्ट्रिय जनमोर्चाबाट कृष्णप्रसाद पोख्रेल, जसपा नेपालबाट सुरज हितान, नेपाल दलित पार्टीबाट वीरबहादुर सुनार, मंगोल नेशनल अर्गनाइजेसनबाट खिमबहादुर थापाको उम्मेदवारी परेको छ ।

यस्तै धनेन्द्र क्षेत्री, गिरीप्रसाद न्यौपाने, कृष्णप्रसाद घिमिरे, शम्मु गुरुङ्ग, डिल्लिप्रसाद पाध्या, रुद्रप्रसाद शर्मा, मिनबहादुर कार्की, जसमीन पौडेल र भगवती गैरेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

बुटवल उपमहानगरमा यसपटक पनि एमाले र नेपाली कांग्रेसबिचमै कडा प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ कांग्रेसलाई सत्ता गठबन्धनका अन्य दलहरुले सहयोग गर्ने भएका छन्।

तर, जसपाले मेयर र उपमेयरमा आफ्नै उम्मेदवारी दर्ता गराएपछि गठबन्धनलाई चुनौती थपिएको छ। एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग मिलेर निर्वाचनमा होमिएको छ ।

बुटवलमा २०७४ स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरको मेयरमा एमालेबाट शिवराज सुवेदी विजयी भएका थिए। कांग्रेस र नेकपा माओवादी केन्द्र) गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले एक्लै बाजी मारेको थियो।

त्यतिबेला पनि कांग्रेसबाट खेलराज पाण्डे नै उम्मेदवार थिए। सुवेदीले पाण्डेलाई दुई हजार तीन सय ९८ मतान्तरले पराजित गरेका थिए। बुटवल उपमहानगरपालिकामा २०५४ सालदेखि एमालेले निरन्तर नेतृत्व गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस