Latest News

मतगणना सुरु भएका काठमाडौंका सबै पालिकामा एमालेको अग्रता, यस्तो छ पछिल्लो अपडेट

Nepalese Times May 14, 2022 (2 Year ago)    2871 Views

काठमाडौं । काठमाडौंका तीन वटा नगरपालिकामा मतगणना शुरु भएको छ। मतगणना भएको तीनवटै पालिकामा एमालेले अग्रता लिएको छ । शंखरापुर,गोकर्णेश्वर र बुढानिलकण्ठमा एमालेका मेयर उपमेयरका उम्मेदवार अगाडि छन् ।

गोकर्णेश्वरमा एमालेका उम्मेदवार उद्धब विष्टले ५५० मतसहित अग्रता लिँदा कांग्रेसका विनोद रिजालले ५०० मत पाएका छन् । उपमेयरमा एमालेकी सान्नानी लामाले ५६२ मतका साथ अग्रता लिँदा कांग्रेसकी उम्मेदवारले ४५१ मत पाएकी छन् ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा पनि एमालेको मेयर उम्मेदवार मिठाराम अधिकारीले ७७८ मत सहित अग्रता लिएका छन् भने कांग्रेसका विनोद चालिसेले ४२८ मत पाएका छन् ।

उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा छिन् भने कांग्रेसकी रमा वाग्लेको ४५३ मत छ । काठमाडौं महानगरपालिकाको मतगणना शुरु भएको छैन । अन्य नगरपालिकाको मतगणना शुरु हुने क्रममा छ ।

त्यस्तै शंखरापुरमा एमालेका मेयर उम्मेदवारले १३५ मतले अग्रता लिँदा गठबन्धनका उम्मेदवारले ९० मत पाएका छन् । यस्तै एमालेले काठमाडौंमा पनि खाता खोलेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका छन् । मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् ।

यस्तै मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अन्तिम मतपरिणाम प्राप्त भएको छ। निर्वाचन परिणाम अनुसार त्यहाँ एमालेको उम्मेदवार लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। विष्टले ६८९ मत पाएका छन्। प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देव बहादुर गुरुङले १८५ मत पाएका छन्।

उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएकी छिन्। उनले ६४१ मत पाइन्। नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएर पराजित भएकी छिन्।

यस्तै मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले अध्यक्षमा लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनी दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा निर्वाचित बनेका हुन् ।

३ सय २० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याए । उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याउँदा एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् ।

 

 

प्रतिक्रिया दिनुहोस