दाङ । दाङको राप्ती गाउँपालिका वडा नं ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् । यो वडामा कुल ७ सय १४ मत खसेको थियो । यहाँ माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो ।
माओवादी केन्द्रका अध्यक्षमा निर्वाचित मगरले ३ सय ५८ प्राप्त मत गरी निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवारले १ सय ९८, नेकपा एमालेका उम्मेदवारले ७६, स्वतन्त्र उम्मेदवारहरु गुलाफको फूलले १७ र छाता चुनाव चिह्नले जम्मा १ मत प्राप्त गरेका थिए ।
यस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । ५ सय ६१ मत सहित माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन् ।
कांग्रेसका खले पुनलाई पराजित गर्दै टेकबहादुर विजयी भएका हुन् । खलेको पक्षमा २ सय ८१ मत आएको छ । उक्त वडाका अरु सदस्यमा पनि माओवादीकै उम्मेदवार विजयी भएका छन् । कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार निर्वाचित भएका छन् ।
जिल्लाका ७३ मध्ये यो वडाको नतिजा पहिलो आएको हो । जिल्लाको मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको मत गणना चलिरहेको छ । मुसीकोटमा कांग्रेसका महेन्द्र केसीले अग्रता लिएका छन् सानीभेरीमा माओवादी केन्द्रका बिर्खबहादुर विष्टले अग्रता लिएका छन् ।
यस्तै सल्यानको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनलाई पछि पार्दै नेकपा माओवादी केन्द्रले अग्रता बनाएको छ । मध्यराति १२ बजेदेखि मतगणना जारी छ ।
अहिलेसम्म ५०० मत गन्दा अध्यक्षमा माओवादी केन्द्रका डिल्लीराज जैशीले २६६ मतसहित सुरुवाती अग्रता बनाएका छन् । यस्तै नेपाली काँग्रेस र एमालेको गठबन्धनबाट अध्यक्षका उम्मेदवार मानबहादुर बुढाथोकीले २५४ मतका साथ जैशीलाई पछ्याइरहेको अवस्था छ । उपाध्यक्षमा पनि माओवादीकै अग्रता छ ।
उपाध्यक्षमा माओवादी केन्द्र धनसरा मल्लले २८४ पाएकी छन् भने काँग्रेस र एमाले गठबन्धनका उम्मेदवार लालबहादुर रावतले २१९ मत पाएका छन् । यस्तै वडा १ को अध्यक्षमा माओवादी केन्द्रका डिल्ली रानाले ३१८ र काँग्रेस र एमाले गठबन्धनका प्रेम बहादुर बुढाथोकीले २०९ मत पाएका छन् ।