काठमाडौं । नेपाली कांग्रेसले कञ्चनपुरमा पनि खाता खोलेको छ । लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी निर्वाचित भएका छन् ।
जोशीले ४६४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३४९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका जितबहादुर चौधरीले २६६ मत ल्याए । वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
यस्तै नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिए ।
नवनिर्वाचित तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अनिलकुमार घलेले ६९ मत प्राप्त गर्नुभएको छ । वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३ , माओवादीका उम्मेदवारलाई ६९, नेकपा (एमाले)को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो । अहिले सोही गाउँपालिकाको वडा नं २ को मतगणना जारी छ ।
यस्तै गुल्मीको रेसुङ्गा नगरपालिकामा २ को वडाध्यक्षमा काङ्ग्रेसका हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका छन। वडामा काङ्ग्रेसले प्यानलै जितेको हो।मेयरमा पनि कांग्रेसले सुरुवाती अग्रता लिएको छ।
गठबन्धनका तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन्। उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्।
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । योसँगै स्थानीय तह निर्वाचन २०७९मा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।
मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत भने बदर भएको छ ।