Latest News

काठमाडौंको शंकरापुरमा राप्रपाको अग्रता, कसले कति मत ल्याए ?

Nepalese Times May 14, 2022 (2 Year ago)    2011 Views

काठमाडौँ । काठमाडौंको शंकरापुरमा मतगणना सुरु भएको छ । हालसम्मको मतगणना परिणामअनुसार राप्रपाले सुरुवाती अग्रता लिएको छ । राप्रपाका रमेश नापित चार मतले अगाडि रहेका छन् । यो नगरपालिकामा एमाले र एकीकृत समाजवादी दोस्रो र तेस्रो नम्बरमा रहेका छन् ।

राप्रपाका नापितले १ सय ७५ मत ल्याउँदा एमालेका कृष्णलाल बजगाईं चार मतले मात्रै पछाडि छन् । उनले १ सय ७१ मत ल्याएका छन् । एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले १ सय १८ मत ल्याएका छन् ।

उपप्रमुखमा पनि राप्रपाले अग्रता लिएको छ । राप्रपाकी विजयकुमारी वाइबाले १ सय ३१ मत ल्याएकी छन् । माओवादीकी चण्डिका चौलागाईंले ७६ र कांग्रेसकी समिता श्रेष्ठले ७३ मत ल्याएका छन् ।

त्यस्तै बुटवल उपमहानगरपालिकामा काँग्रेसको अग्रता कायमै रहेको छ । सत्ता गठबन्धनबीच तालमेल भएको बुटवलमा मेयर पदमा काँग्रेसका उम्मेदवारले २१५ मत पाउँदा राप्रपाले ११३ मत पाएको छ । एमाले भने ७८ मतका साथ तेस्रो स्थानमा छ । अहिलेसम्म ४०० मत गनिएको छ। एमालेलाई राप्रपाले पनि उछिनेको छ।

त्यस्तै नेकपा एमालेले काठमाडौंमा पनि खाता खोलेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका छन् । मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाएका छन् । यो नगरपालिकामा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता कायम गरेर हुन् । अहिले पनि बुढानिलकण्ठ नगरपालिकामा मतगणना चलिरहेको छ ।

बुढानिलकण्ठ नगरपालिकामा मेयर पदका लागि नेकपा एमालेबाट मिठाराम अधिकारी, नेपाली कांग्रेसबाट विनोद चालिसे नेकपा माओवादी केन्द्रबाट डम्बर प्रसाद अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिता राम विश्‍वकर्माले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस