Latest News

बुटवल उपमहानगरपालिकामा पनि कांग्रेसको अग्रता, यस्तो छ पछिल्लो अपडेट

Nepalese Times May 14, 2022 (2 Year ago)    1468 Views

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रारम्भीक मतगणनामा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ। वडा नम्बर १ को २ सय मत गणना हुँदा गठबन्धनका साझा उम्मेद्वार नेपाली काङ्ग्रेसका खेलराज पाण्डेले ७३ मतसहित अग्रता लिएका हुन्।

दोस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचन ४५ मतसहित पछ्याइरहेका छन्। यहाँ नेकपा एमालेका बाबुराम भट्टराईले ३३ मत पाएका छन्। वडा नम्बर १ मा १ हजार ९ सय ७४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

स्थानीय तह निर्वाचनका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदका लागि १७ जनाको उम्मेदवारी परेको छ। मेयरमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायत ८ राजनीतिक दल र ७ स्वतन्त्र गरी १७ जनाको उम्मेदवारी परेको हो।

बुटवल उपमहानगरपालिकामा नेकपा एमालेबाट बाबुराम भट्टराई, नेपाली कांग्रेसबाट खेलराज पाण्डेय, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मृगेन्द्रकुमार शेरचन, नेपाल मजदुर किसान पार्टीबाट हरि सुन्दर बासी, राष्ट्रिय जनमोर्चाबाट कृष्णप्रसाद पोख्रेल, जसपा नेपालबाट सुरज हितान, नेपाल दलित पार्टीबाट वीरबहादुर सुनार, मंगोल नेशनल अर्गनाइजेसनबाट खिमबहादुर थापाको उम्मेदवारी परेको छ ।

यस्तै धनेन्द्र क्षेत्री, गिरीप्रसाद न्यौपाने, कृष्णप्रसाद घिमिरे, शम्मु गुरुङ्ग, डिल्लिप्रसाद पाध्या, रुद्रप्रसाद शर्मा, मिनबहादुर कार्की, जसमीन पौडेल र भगवती गैरेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

बुटवल उपमहानगरमा यसपटक पनि एमाले र नेपाली कांग्रेसबिचमै कडा प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ कांग्रेसलाई सत्ता गठबन्धनका अन्य दलहरुले सहयोग गर्ने भएका छन्।

तर, जसपाले मेयर र उपमेयरमा आफ्नै उम्मेदवारी दर्ता गराएपछि गठबन्धनलाई चुनौती थपिएको छ। एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग मिलेर निर्वाचनमा होमिएको छ ।

बुटवलमा २०७४ स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरको मेयरमा एमालेबाट शिवराज सुवेदी विजयी भएका थिए। कांग्रेस र नेकपा माओवादी केन्द्र) गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले एक्लै बाजी मारेको थियो।

त्यतिबेला पनि कांग्रेसबाट खेलराज पाण्डे नै उम्मेदवार थिए। सुवेदीले पाण्डेलाई दुई हजार तीन सय ९८ मतान्तरले पराजित गरेका थिए। बुटवल उपमहानगरपालिकामा २०५४ सालदेखि एमालेले निरन्तर नेतृत्व गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस