Latest News

काठमाडौंको मेयरमा बालेन शाह निर्वाचित हुने प्रक्षेपण सार्वजनिक, एमाले र कांग्रेसमा खैलाबैला

Nepalese Times May 13, 2022 (2 Year ago)    1574 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा यो पटक स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित हुने प्रक्षेपण सार्वजनिक भएको छ ।निर्वाचनको दिन शुक्रबार मतदान सकिएसँगै स्वतन्त्र उम्मेदवार बालेन आफ्ना ५४ प्रतिस्पर्धीलाई हराएर काठमाडौं महानगरको मेयर निर्वाचित हुने देखिएको एक प्रक्षेपणले दाबी गरेको हो ।

ठूला र स्थापित दललाई हराएर स्वतन्त्र उम्मेदवार काठमाडौं महानगरको मेयर निर्वाचित भएको यो पहिलो पटक हुनेसमेत प्रक्षेपणमा भनिएको छ । काठमाडौंका ३२ वटै वडा पुगेर विभिन्न टोल तथा चोकमा भेटिएका मतदाताहरूसँग निरन्तर गरिएको कुराकानीका आधारमा बालेनको जित पक्कापक्की जस्तै भएको दाबी गरिएको छ ।

चुनाव हुनुभन्दा केही दिनअघि मात्र काठमाडौंको भित्री नेवार वस्तीका १२ वडा र त्यसभन्दा बाहिर रहेका २० वडाका ३३० मतदातासँग कुरा गरिएको थियो ।

यी १२ वडामा करिब ८० हजार मतदाता छन् भने अरू २० वडामा झन्डै २ लाख २० हजार मतदाता छन्। काठमाडौंको भित्री नेवार वस्तीमा एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहबीच मुख्य प्रतिस्पर्धा देखिएको थियो भने बालेन तेस्रो नम्बरमा थिए। भित्री सहरबाहेकका २० वडामा भने बालेनप्रति सबभन्दा ठूलो आकर्षण देखिएको थियो।

बालेनप्रति किन यति धेरै आकर्षण छ ? मतदानका दिनसम्म त्यो आकर्षण कायम रहन्छ र काठमाडौंका मतदाताले उनलाई मत दिन्छन् ? यिनै प्रश्नको उत्तर खोज्न मतदानका दिन काठमाडौंका १६० बुथमा पुगेर मतदाताहरूसँग कुरा गर्दा बालेनले जित्ने लगभर पक्कापक्की जस्तै भएको हो ।

निर्वाचनका दिन आफ्नो मत खसालेर आएका १३५० मतदातासँग उनीहरूले मत खसालेका मतदान केन्द्रबाहिर कुरा गर्दा सकेसम्म महिला–पुरुष र उनीहरूको उमेर समूहको सन्तुलन मिलाउने प्रयत्न गरेको पाइएको छ ।

आफ्नो मत खसालेर आएका मतदातासँग गरेको कुराकानीबाट १३५० मतदातामध्ये ५७० जना अर्थात ४२ प्रतिशतले बालेन शाहलाई मत दिएको बताए। दोस्रोमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई ३५० अर्थात २६ प्रतिशतले मत दिएको बताए। तेस्रोमा एमालेका उम्मेदवार केशव स्थापितलाई ३३५ अर्थात २५ प्रतिशतले मत दिएको बताए।

यो विश्लेषणमा यी तीन जना उम्मेदवारबाहेक कसैले पनि जमानत जोगाउन सक्ने छैनन्। कुरा गरेका १३५० मतदातामध्ये ५९ जना अर्थात ४ प्रतिशतले अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीलाई मत दिने बताए। उनले चौथो धेरै मत पाउने छन्। २९ जनाले राप्रपाका मदनदास श्रेष्ठ र ७ जनाले विवेकशील साझाकी समीक्षा बास्कोटालाई मत दिने बताए।

कुनै पनि उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत ल्याउनुपर्ने कानुनी प्रावधान छ। बालेन शाहलाई मत दिएका कतिपय मतदाताले वडाका उम्मेदवारलाई मत दिँदा झुक्किएर फेरि मेयरका अर्का उम्मेदवारलाई पनि मत दिन पुगेको बताएका छन्। बालेनको टिमका कतिपय मानिसले पनि आफ्ना उम्मेदवारले पाएको केही मत बदर हुनसक्ने चिन्ता रहेको बताए।

स्वतन्त्र उम्मेदवार बालेन शाहले कोर–सिटी बाहिरबाट धेरै मत ल्याउन सक्ने भए पनि कोर–सिटीभित्र भने नेकपा एमालेका केशव स्थापित सबभन्दा अगाडि छन्। दोस्रो स्थानमा सिर्जना र बालेनबीच कडा प्रतिस्पर्धा छ।

कोर–सिटीमा अर्का स्वतन्त्र मेयर उम्मेदवार सुमन सायमीले पनि राम्रो भोट ल्याउने छन्। यहाँ ४३ जनाले सुमनलाई भोट हालेको बताएका छन्। यसबाहेक तीन जनाले राप्रपा उम्मेदवार मदनदास श्रेष्ठलाई र एक जनाले अन्यलाई भोट हालेको बताए।

कोर–सिटीको कुल भोट ८० हजार हो भने बाहिर २ लाख २० हजार मत छ। अर्कोतिर नयाँबानेश्वर, बुद्धनगर, सिनामंगल, पुरानो बानेश्वर, बालाजु लगायत क्षेत्रका वडाहरूमा बालेन शाह आफ्ना प्रतिद्वन्द्वीभन्दा धेरै मतान्तरले अगाडि छन्।

त्यहाँ बालेनको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहसँग छ। एमाले उम्मेदवार केशव स्थापित निकै पछाडि देखिन्छन्। कोर सिटीका १२ वटा र बाहिरका २० वडामा जोड्ने हो भने बालेन सबैभन्दा अगाडि देखिन्छन्।

बालेनलाई यसपालि मत दिने मतदातामध्ये सबभन्दा धेरैले २०७४ सालको चुनावमा एमालेका विद्यासुन्दर शाक्यलाई मत दिएको बताए। त्यस हिसाबले बालेनले एमालेलाई परम्परागत विश्वास गरेका मतदाताबाट ठूलो मत पाएको देखिन्छ।

उनलाई मत दिएका ५७० मतदातामध्ये २०७ अर्थात ३६ प्रतिशतले अघिल्लो पटक एमालेलाई मत दिएको बताए। त्यस्तै १२० जना अर्थात २१ प्रतिशतले अघिल्लो पटक कांग्रेसलाई मत दिएको बताए।

गएको चुनावमा विवेकशील र साझा पार्टीका मेयर उम्मेदवार रञ्जु दर्शना र किशोर थापालाई मत दिएका मतदाताको ठूलो संख्याले पनि यसपालि बालेनलाई मत दिएका छन्। उनलाई मत दिएका ६५ मतदाता अर्थात ११ प्रतिशतले यसअघिको निर्वाचनमा विवेकशील साझालाई मत दिएको बताएका छन्। त्यसबाहेक पहिलो पटक मत दिन लागेका मतदाताको सबभन्दा ठूलो आकर्षण पनि बालेनप्रति नै देखिन्छ।

प्रतिक्रिया दिनुहोस