Latest News

निर्वाचन अपडेटः अहिलेसम्म देशभर कति प्रतिशत मतदान सकियो ?

Nepalese Times May 13, 2022 (2 Year ago)    813 Views

काठमाडौं । देशभर स्थानीय तहको निर्वाचन अन्तर्गत भोट हाल्ने क्रम चलिरहेको छ । अहिलेसम्म झण्डै ५० प्रतिशत मतदाताल भोट हालिसकेका निर्वाचन आयोगले जनाएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थानीय तह निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ ।

आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदान कार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर मतगणना सुरु गर्नुपर्ने हुन्छ ।

दोलखा, सर्लाही, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ ।

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि स्थगित भने नभएकोे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

उनका अनुसार मतदान अवरुद्ध भएको ठाउँमा पनि आयोगको तर्फबाट कमी कमजोरी भएका कारण नभइ राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण भएको हो ।

कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । “दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला, बाजुरालगायत केही जिल्लाका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको छ”, उनले भने ।

शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदाताहरु लामबद्ध भई मतदानमा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस