Latest News

कांग्रेस उम्मेदवारका कारण कपिलवस्तुको निर्वाचन सर्यो, तोकियो नयाँ मिति

Nepalese Times May 11, 2022 (2 Year ago)    706 Views

काठमाडौं । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उममेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएको छ । उनको निधन भएसँगै निर्वाचन सरेको छ ।

उम्मेदवारकै ज्यान गएपछि निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो । जेठ ३ मा निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

जसअनुसार बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । उम्मेदवार कुर्मीको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको ठाउँमा नेपाली काँग्रेसले रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाएको निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ ।

नगरपालिकाभरी नै ३ गते मतदान हुने भन्दे निर्वाचन अधिकृत कुवेर पाण्डेयले भने, ‘आज उम्मेदवारी परेको छ । आज नै नाम प्रकाशन गरेर भोलि दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिन्छ ।’ यस नगरपालिकामा मौन अवधि वैशाख ३१ गते साँझबाट लागु हुने छ । ​

यस्तै दाङको तुल्सीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गतेपछि मात्रै हुने भएको छ । देशभर शुक्रबार स्थानीय निर्वाचन तोकिए पनि उम्मेदवारको मृत्यु भएका कारण तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ को निर्वाचन जेठ ३ गते मात्रै हुनेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

वैशाख ३० गते तुल्सीपुर उपमहानगरपालिकाको अन्य वडामा मतदान भएपछि १७ नम्बर वडाको सम्पूर्ण मतदान कार्यक्रम जेठ ३ गतेका लागि सारिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका सूचना अधिकारी गहेन्द्र कुँवरले रातोपाटीलाई बताए ।

जेठ ३ गते नै वडा नम्बर १७ का मतदाताले मेयर, उप मेयरसहित वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई मतदान गर्ने उनको भनाइ छ । जेठ ३ गतेको दिन वडा नम्बर १७ को मतदान सकिएपछि सबै प्रक्रिया पुरा गरेर एकसाथ उपमहानगरपालिकाको मतगणना सुरु गरिने उनको भनाइ छ ।

एमालेका अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको सोमबार बेलुका उपचारको क्रममा निधन भएपछि वैशाख ३० गते निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुनेछ भने वैशाख ३१ गते मध्यरातसम्म प्रचार प्रसार गर्न पाइने छ । यस्तै मनोनयन दर्ताको कार्यक्रम बुधबारका लागि तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस