Latest News

भरतपुरमा कांग्रेस कार्यकर्ताले झोलामा पैसा बाँढ्न थाले, जगन्नाथले सार्वजनिक गरे प्रमाण

Nepalese Times May 10, 2022 (2 Year ago)    796 Views

काठमाडौं । चितवनको भरतपुर महागनरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सत्ता गठबन्धनले झोलामा पैसा र साडी बाँढको आरोप लगाएका छन् ।

भरतपुरको मालपोत चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै मेयर उम्मेदवार पौडेलले सत्ता गठबन्धनले झोलाझोलामा पाँच हजार, दश हजार रुपैयाँ र साडी बाँडेको सूचना आफूलाई आएको बताए ।

उनले त्यसको अगुवाइ कांग्रेसले गरिहेको बताए । उनले चुनाव प्रभावित गर्न अनेकखालका प्रयास थालिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताए । चुनाव आउन मात्रै केही समय बाँकी रहँदा मेयर उम्मेदवार पौडेललेले मतदाता प्रभावित गर्न झोला झोलामा पैसा र साडी बाँडेको आरोप लगाएका हुन् ।

उनले कांग्रेस जोगाउनका लागि विद्रोह गरेको भन्दै धेरै कांग्रेसका नेता कार्यकर्ता आफूलाई भेट्न आइरहेको र आफूले चुनाव हारे पनि जिते पनि यो सन्देश देशभरि जान जरुरी रहेको बताए ।

चितवन जिल्ला सभापति राजेश्वर खनालप्रति आक्रोश व्यक्त गर्दै पौडेलले जिल्ला सभापति खनालले कांग्रेसका नेता कार्यकर्तालाई फोन गरेर माओवादीलाई भोट दिन भनेको, नदिए कारवाही गर्छु भनेर धम्की दिएको बताए ।

आफूहरुलाई कारवाही गरेर कांग्रेस बन्न नसक्ने भन्दै उनले प्रचण्डले कांग्रेसलाई बचाउन नसक्ने बताए । उनले भने, – मभन्दा ठूलो कांग्रेस राजेश्वर हो कि म ? राजेश्वरभन्दा ठूलो कांग्रेस कृष्णलाल सापकोटा हो कि को हो ?’

चर्चाको केन्द्रमा रहेको चितवनको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

यस्तै नेकपा एमालेले यो पटक भरतपुरमा बलियो उम्मेदवार उठाएको छ । यो पटक देवी ज्ञवालीललाई मेयरको टिकट दिने चर्चा भएपनि अन्तिम समयमा आएर विजय सुवेदीले टिकट पाएका छन् ।

उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरको टिकट लिएर मैदानमा आएका हुन् । स्थानीय चुनावको घोषणा भएदेखि नै तरंगित भरतपुर मतदानको दिन नजिकिँदै गर्दा नयाँ–नयाँ आशंका र अनुमानबाट गुज्रिरहेको छ ।

चुनावका दिनसम्म भरतपुरको रणनीतिक लडाइँको मार्गचित्र स्पष्ट तय गरेको छ– गठबन्धनले असन्तुष्ट मत जगन्नाथकोमा जान नदिने, जगन्नाथले कांग्रेसको मत सकेसम्म आफूतिर तान्ने प्रयास जारी राख्ने र यी दुवैको कमजोर कडीमा आफू हाबी हुन एमालेले प्रयास गर्ने ।

यसको छनक रेनु र एमाले उम्मेदवार विजय सुवेदी एकै पटक एकै क्षेत्रको चुनावी प्रचारमा खटिएबाट देख्न सकिन्छ । शनिबार दुवै उम्मेदवारले कांग्रेस बहुल मतदाता भएको क्षेत्र पश्चिम चितवनको हरैया, शारदानगर, चनौली, दिव्यनगरलगायत क्षेत्रमा घरदैलो र कोणसभा गरेका थिए ।

गत स्थानीय निर्वाचनमा सबैभन्दा चर्चामा रहेको महानगरपालिका भरतपुरमा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार बनेकी रेनु दाहाललाई नेपाली काँग्रेसले सघाएको थियो ।

मत गणनाको क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि यो महानगरपालिका चर्चाको शिखरमा रहेको थियो । यसपाली पनि कांग्रेससहित पाँच दलीय गठबन्धनले दाहाललाई नै मेयरमा उम्मेदवारी बनाएका छन् । उपमेयरमा नेपाली काँग्रेसका नगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै राप्रपासँग गठबन्धन गर्दै नेकपा एमालेले मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, उपमेयरमा राप्रपाबाट हिमाली गुरुङ उम्मेदवार बनेकी छिन् । अघिल्लो निर्वाचनमा दाहालले ४३ हजार १ सय २७ मत र उनका प्रतिद्धन्द्धी नेकपाल एमालेका देवी प्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए ।

उपप्रमुखमा नेपाली कांग्रेसबाट पार्वती शाह ठकुरीले ४७ हजार १ सय ९७ भोट ल्याएकी थिइन भने नेकपा एमालेबाट दिव्य शर्माले ३९ हजार ५ सय २५ मत ल्याएकी थिइन । भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस