Latest News

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ‘राष्ट्र गौरव’ पदकबाट सम्मानित

Nepalese Times April 14, 2022 (2 Year ago)    649 Views

सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव पदक प्रदान गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता खनाललाई उक्त पदक बिहीबार प्रदान गरिन्।

सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण प्रदान गरिएको हो। संविधान दिवसका अवसरमा सरकारले नौ सय तीनजनालाई मान-पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरेको थियो ।

गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व तुल्सीलाल अमात्य, स्व मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व दुर्गानन्द झा, स्वरसम्राट स्व नारायणगोपाल गुरुवाचार्यलाई मानपदवी प्रदान गरियो ।

यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व पोष्टबहादुर बोगटी, स्व मार्शलजुलुम शाक्य, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सुशोभन गरियो । विभूषण प्राप्त गर्नेहरुको सूची करिब पाँच सयको सङ्ख्यामा भएकाले अहिले कार्यक्रम जारी रहेको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाँणलगायत मन्त्रीगण र उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस