
काठमाडौं । निर्वाचन आयोगले विभिन्न १० स्थानीय तहका निर्वाचन अधिकृत हेरफेर गर्ने निर्णय गरेको छ ।
आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने १० वटा स्थानीय तहका निर्वाचन अधिकृत हेरफेर गरेको छ ।
विभिन्न जिल्ला स्थानीय तहमा यस अघि खटाइएका निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ ।
विभिन्न कारणले १० स्थानीय तहमा खटाइएका निर्वाचन अधिकृतलाई हटाउँदै त्यस ठाउँमा अन्य १० जनालाई नियुक्त गरिएको आयोगले जनाएको हो ।
नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र अर्थात् आजैदेखि नै लागू हुने गरी तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।
आयोगले पाँचथरको मिक्लाजुङ गाउँपालिकामा निर्वाचन अधिकृतका रुपमा खटाइएका लक्ष्मीदेवी होमागाईलाई धनकुटाको महालक्ष्मी नगरपालिकाको निर्वाचन अधिकृतमा खटाएको छ ।
यस्तै निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतबाट न्यायाधीश हेमन्त रावललाई हटाएको छ।
स्थानीय तहको निर्वाचन आउन एक महिना मात्रै समय रहेका बेला २०७४ मा पनि मतपत्र च्यातेर विवादमा मुछिएको भरतपुर महानगरपालिकामा हेरफेर भएको हो।
निर्वाचन आयोगले यसअघि तोकिएका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई उक्त स्थानमा ल्याइएको हो।
चितवन जिल्ला अदालतमा पहिलो नम्बरमा न्यायाधीश रावल छन्। त्यसपछि दोस्रोमा केशवप्रसाद अधिकारी, तेस्रोमा गायत्रीप्रसाद रेग्मी, चौथोमा प्रकाश अधिकारी, पाँचौँमा अवनी मैनाली भट्टराई र छैटौँमा शकुन्तला कार्की रहेकी छन्।
आयोगले पहिलो नम्बरका रावललाई हटाएर दोस्रो र तेस्रो नम्बरकालाई जिम्मेवारी नदिइ चौथो नम्बरका अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो।
आयोगले भरतपुरकै मुख्य निर्वाचन अधिकृत चुनावको मुखमा हेरफेर गर्नुको कारण केही खुलाएको छैन। सूचनामा सोमबारको निर्णयअनुसार मुख्य निर्वाचन अधिकृत हेरफेर गरिएको मात्रै उल्लेख गरिएको छ।


