Latest News

प्रचण्डको नाम जोडिएको शेरा दरबारको जग्गा काण्ड के हो ?

Nepalese Times December 28, 2024 (1 Day ago)    235 Views

काठमडौं । नुवाकोटको बिदुर नगरपालिका–२ स्थित शेरा दरबारको १६४ रोपनी जग्गा हदबन्दी प्रयोजन विपरीत दुरुपयोग भएको प्रहरीको अनुसन्धानले देखाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले त्यसबारे अनुसन्धान गरेर मालपोत ऐन अनुसार प्रक्रिया अघि बढाउन भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचार गरेको छ ।

दरबार क्षेत्रमा पर्ने १६४ रोपनी १३ आना जग्गा हदबन्दीको प्रयोजन विपरीत भोगचलन गरेको भेटिएको सीआईबीले जनाएको छ । पृथ्वी नारायण शाहले नुवाकोटमा १८४ रोपनीमा शीतकालीन दरबार बनाएका थिए । शाह परिवारबाट नामसारी हुँदै सो जग्गा हेलेन शाह र जयन्ती शाहको नाममा आएको थियो । २०३६ सालमा हदबन्दी लागु भएपछि हेलेनको नाममा १२ रोपनी र जयन्तीको नाममा ९ रोपनी जग्गा आयो ।

हदबन्दी भन्दा धेरै भएको १६४ रोपनी १३ आना जग्गा मालपोत कार्यालयबाट गौरिशंकर फार्मिङको नाममा राखिएको थियो । नुवाकोट घर भएका विकेश श्रेष्ठले २०४४ मा गौरिशंकर फार्मिङको नाम परिवर्तन गरेर अन्नपूर्ण फार्मिङको नाममा भोगचलन गरे । त्यहाँ कृषि क्याम्पस पनि संचालन गरे ।

मालपोत कार्यालयको श्रेस्तामा केरमेट गरेर गौरिशंकर फार्मिङलाई ‘अन्नपूर्ण फार्मिङ’ बनाएको प्रहरीको अनुसन्धानबाट भेटिएको छ । अन्नपूर्ण फार्मिङको नाममा जग्गा भोगचलन गर्दै आएका विकेश श्रेष्ठ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बन्दा स्वकीय सचिव रहेका थिए ।

प्रतिक्रिया दिनुहोस