Latest News

टिकटक प्रतिबन्ध खुल्यो, यस्ता छन् सरकारले राखेका ४ सर्त

Nepalese Times August 22, 2024 (1 Month ago)    477 Views

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले करिब एक वर्षदेखि बन्द रहेको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले हालै पारित गरेको सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अन्य चार सर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गरिएको बताए । निर्देशिका सबै सामाजिक सञ्जालका लागि लागू हुने र टिकटकले उक्त निर्देशिकाबाहेक पनि चार सर्तहरु पूरा गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ ।

उनका अनुसार टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त राखिएको छ ।

‘हामीले यी सर्तहरु राख्दा टिकटकले स्वीकार गर्ने भएपछि अहिलेलाई नीतिगत रुपमा टिकटक खुला गरेका छाैं,’ उनले भने । सामाजिक सद्भाव भड्काएको भन्दै २०८० असोज २७ गते तत्कालीन पुष्पकमल दाहाल सरकारले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको थियो ।

मन्त्री गुरुङका अनुसार अब टिकटकमात्र नभई सबै सामाजिक सञ्जालले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामाग्री प्रसार गर्न पाउने छैनन् । ‘सरकारले जारी गरेको जुन निर्देशिका छ, त्यसमा उल्लेखित नियम सबै सामाजिक सञ्जालले मान्नुपर्छ । कुनै पनि सामाजिक सञ्जालले समाजलाई असर पर्ने गरी कार्य गर्न पाउँदैनन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस