Latest News

भारतीय टोलीले पनि भेट्टाउन सकेन बस र यात्रु, त्यसै फर्किँदै

Nepalese Times July 28, 2024 (4 Month ago)    333 Views

काठमाडौं । त्रिशूली नदीमा खसेर बेपत्ता दुई बस र यात्रु खोजीमा सघाउन भारतबाट आएको उद्धार टोली आइतबार स्वदेश फर्किने भएको छ।एक हप्ताको समय लिएर भारतबाट शनिबार (साउन ५ गते) चितवन आइपुगेको राष्ट्रिय आपदा मोचन बलका १२ सदस्यको टोली आफ्नो अवधि पूरा भएकाले  आफ्नो देश फर्किने भएको हो।

गत असार २८ गते शुक्रबार बिहान पहिरोमा परेर त्रिशूलीमा बगेका २ बसको अवस्था अझै अज्ञात छ। काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बगेका थिए।

बसमा सवार ६५ यात्रुमध्ये ३ जनाले पौडिएर ज्यान जोगाए पनि बाँकी सबै बेपत्ता भएका थिए। तीमध्ये हालसम्म २५ जनाको शव फेला परेका छन् भने बाँकी यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन।

घटनाकै दिनदेखि नेपाली सेना, नेपाल प्रहरी, गोताखोर टोली खोजीमा खटिए। एक हप्तासम्म खोजी गर्दा २५ जनाको मात्र शव फेला पर्‍यो। नेपाली स्रोतसाधनले दुई बस र बाँकी यात्रु फेला पार्न नसकेपछि सरकारले भारतबाट उद्धार टोली झिकाएको थियो।

भारतबाट राष्ट्रिय आपदा मोचन बलका १२ सदस्यको टोली शनिबार (साउन ५ गते) चितवन आइपुगेको थियो। उक्त दिन टोलीलाई जिल्ला प्रशासन कार्यालय चितवनको हलमा दुर्घटनाबारे दुर्घटनाको टोलीलाई ब्रिफिङ गराइयो।

भारतीय टोली स्वदेश फर्किने भए पनि नेपाली उद्धार टोलीले भने खोजी जारी नै राखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्री राम भण्डारीले जानकारी दिए। उनका अनुसार आज पनि बिहानैबाट खोजी सुरु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस