Latest News

कमला ह्यारिस खुशी हुनेगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले लिए यस्तो निर्णय

Nepalese Times July 22, 2024 (2 Month ago)    183 Views

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी नदिने भएका छन् । निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारी त्याग्ने घोषणा गरेका हुन् ।

बाइडेनको उमेरका कारण उनी नयाँ कार्यकाल राष्ट्रपतिका लागि काम गर्न सक्षम नरहेको र उनी नै उम्मेदवार रहे डोनाल्ड ट्रम्पले चुनाव जित्ने भन्दै उनको आफ्नै डेमोक्रेटिक पार्टीबाट उनलाई उम्मेदवारी फिर्ता लिन तीव्र दबाब थियो ।

अघिल्लो महिना भएको राष्ट्रपतीय बहसमा अत्यन्तै फितलो प्रदर्शन गरेपछि उनी उम्मेदवार कायमै रहे चुनाव हार्ने निष्कर्षमा डेमोक्रेटिक पार्टीका नेताहरु पुगेका थिए । त्यही बीच उनले आइतवार उम्मेदवारी त्याग्ने तर यो कार्यकाल भने पूरै राष्ट्रपतिका रुपमा काम गर्ने घोषणा गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन् – ‘मैले उम्मेदवारी फिर्ता लिनु र बाँकी कार्यकाल राष्ट्रपतिको भूमिकामा केन्द्रित हुनु नै म, मेरो पार्टी र मेरो देशको को सर्वोत्तम हितमा हुनेछ ।’

त्यति मात्रै होइन, उनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको नयाँ उम्मेदवारका रुपमा कमला ह्यारिसलाई समर्थन पनि गरेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा ह्यारिस नै अघि हुनेछिन् । तर, उनले पार्टीको प्राइमरी जितेर आउनुपर्ने हुन्छ । निर्वाचन आउन चार महिना बाँकी छँदा अब पार्टीले नयाँ छनोटको प्रकृया शुरु गर्नुपर्ने छ ।

चुनाव अति नै नजिक आईसकेको सन्दर्भमा रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न परिचित अनुहारका रुपमा ह्यारिस नै उपयुक्त पात्र हुने अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

उनले भनेका छन्ु, – सन् २०२० का कमला ह्यारिसलाई उपराष्ट्रपतिमा छनोट गर्नु मेरो सबैभन्दा राम्रो निर्णय थियो । यसपटक राष्ट्रपतिको उम्मेदवारका रुपमा उनलाई मेरो पूर्ण समर्थन र अनुमोदन रहन्छ ।’ कमला नयाँ उम्मेदवारका रुपमा आउने अनुमानका आधारमा ट्रम्पले भाषणमा उनीमाथि आक्रमण थालिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस