Latest News

निहारिकालाई ज्वाला संगौलाले पनि भेटिन्, दिइन् कडा प्रतिक्रिया

Nepalese Times August 13, 2022 (2 Year ago)    506 Views

काठमाडौं ।

सामाजिक अभियान्ता एवम् राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाले पनि न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई भेटेकी छिन् ।

उनले उपचाररत निहारिकालाई टिचिङ हस्पिटलमा पुगेर भेटेकी हुन् । नायिका एवम् एमाले नेतृ करिश्मा मानन्धरले नीजि फोटोहरु सार्वजनिक गर्दै सहयोग बन्द गर्ने निर्णय गरेलगत्तै संग्रौला निहारिकाको बचाउमा उत्रिएकी थिइन् ।

भेटपछि उनले सामाजिक संजालमार्फत कडा प्रतिक्रिया जनाएकी छिन् । उनले लेखेकी छिन्, ‘कसरी अन्याय गर्छन्, बिबेक गुमाउछन्, victim blaming र shaming गर्छन् र अन्त्यमा अलपत्र पार्छन् नेपालका अधिकारकर्मीहरुका हुल अनि न्यायिक संयन्त्रहरुले भन्ने कुराको ज्वलन्त उदाहरण हुन् कुमारी आमा निहारिका राजपुत । पेटमा बच्चा बोकाएर भागेको केटो आज राज्यले किन खोज्दैन ? किन उस्लाई समातेर कानुनी दायरामा ल्याउदैन ? किन डिएनए टेस्ट गरिँदैन उस्को ? यति गर्न नेपालको अदालतलाई के ले रोकेको छ ?’

यस्तै उनले भनेकी छिन्, ‘यदि निहारिकाको ठाउँमा कुनै नेताकी छोरी भइदिएको भए उनलाई टाढैबाट हेर्ने युवकको आंखा चिम्टाले झिक्थे होला यो देशका गृहमन्त्रीले । तर उनी सामान्य गरिबकी छोरी परिन् तसर्थ अन्याय सहँदा सहँदै अन्त्यमा अस्पतालको मानसिक कक्षमा भर्ना हुन पुगिन् ।’

उनले लेखेकी छिन्, ‘केटाले त अन्याय गर्यो गर्यो तर उनलाई न्याय दिन्छु भनेर पाखुरा बजार्ने र थुतुनो बजाउनेहरुले नै आज उनलाई यो स्थितिमा पुर्याएका छन्। सुरुबाटै जिम्मा लिनेले यो केशलाई बिना कुनै लोभ र डर अडिग भएर फलोअप गरिदिएको भए आज उनको यो हालत हुने थिएन। हिजो उनको नाम भजाएर मिडियामा देखा परेका जालिम चेहराहरु कता भूमिगत भए ?’

चाहे निहारिका बलात्कृत भएकी हुन् अथवा प्रेम सम्बन्ध बाटै गर्भवती बनेकी हुन् अब यो डिबेटको बिषय हुदै नभएको र हुन पनि नहुँने उनले बताएकी छिन् ।

पेट बोकाएर उत्तरदायीत्वबाट भाग्ने शिबराजलाई जसरी पनि २४ घण्टाभित्र राज्यले गिरफ्तार गरेर अदालतमा दाखिला गर्न उनले माग गरेकी छिन् । होईन भने आफूहरु विद्रोहको तयारी गर्ने संग्रोलाले फेसबु्कमार्फत भनेकी छिन् ।

यस्तै टिचिङ अस्पतालमा उपचाररत उनलाई आज काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि भेटेका छन् । निहारिकालाई भेटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्लै बालेनले बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग पूरा नभएकोमा असन्तुष्टि जनाएका छन् ।

सामाजिक संजालमा उनले लेखेका छन्, आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रै’छ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अति हो । यो अत्याचार हो । कानूनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही माग सम्बोधन नभएको भन्दै कुमारी आमा निहारिकाले शुक्रबार शितल निवास अगाडि आत्मदहको प्रयास गरेकी थिइन् ।

राष्ट्रपति कार्यालय शितलनिवास अघि आफ्नो शरिरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले जोगाउन सफल भएको थियो । शुक्रबार दिउँसो शितलनिवास धर्ना दिन पुगेकी उनलाई प्रहरीले धरपकड गरेर पक्राउ गरेको हो ।

उनै निहारिकालाई केही समयअघि नायिका एवम् नेकपा एमालेकी नेतृ करिश्मा मानन्धरले सहयोग गर्ने घोषणा गरेकी थिइन्, सहयोग पनि गरिन् । तर, जब उनले विस्तारै घटनाक्रम बुझ्दै गइन्, गलत ठाउँमा हाल हालेको महसुस गर्न थालिन् ।

निहारिकाका नीजि तस्बिरहरु सार्वजनिक गर्दै करिश्माले लेखेकी छिन्, ‘यो केसको स्वरुप थाहा नपाइ सहयोग गर्न अगाडि सरेकोमा सबैसँग माफी चाहन्छु । अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगा बाहेक रुपैयाँको सहयोग गर्न म सक्दिनँ । निहारिकाको सडकको बिजोग हेर्न नसकेर अगाडि बढेको थिएँ ।’

यो घटना बाहिर आएभन्दा फरक रहेको तर्क गर्दै करिश्माले उनका तस्बिरहरु सार्वजनिक गरेककी छिन् । करिश्माले सार्वजनिक गरेका तस्बिरमा निहारिकाको एक युवकसँग अन्तरंग सम्बन्ध झल्किन्छ । नेप्लिज टाइम्सले करिश्मा मानन्धरसँग निहारिकाका नीजि तस्बिर सार्वजनिक गर्नुको बाध्यताबारे कुराकानी गरेको छ । कुराकानी पढ्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस