Latest News

काठमाडौं महानगरको मेयरमा कांग्रेसकी सिर्जना सिंहले गरिन् उम्मेदवारी दर्ता, को हुन् सिर्जना ?

Nepalese Times April 25, 2022 (2 Year ago)    884 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट सिर्जना सिंहले उम्मेदवारी दर्ता गरेकी छिन् । नेता प्रकाशमान सिंह पत्नीसमेत रहेकी सिंहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी हुन् ।

सिर्जना सत्ता गठबन्धनको तर्फबाट काठमाडौंको साझा उम्मेदवार बनेकी हुन् । उनलाई नेपाली कांग्रेससमित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पाटी (जसपा) लगायतको समर्थन रहेको छ ।

सिर्जना सिंह गणेशमान र मंगलादेवी सिंह परिवारको सदस्य हुन् । उनको आफ्नै राजनीतिक पृष्ठभूमिसमेत रहेको छ । गोरखा बजारमा जन्मिएकी सिर्जना २०४२ सालमा गणेशमान परिवारमा भित्रिएकी हुन् ।

तर, राजनीतिक संघर्षको यात्रा भने उनले गोरखाबाटै सुरुवात गरेकी थिइन् । २०३३ सालमा कांग्रेसको सदस्यता लिएकी उनी त्यही वर्ष गोरखाको महिला संघकी सभापति बनेकी थिइन् ।

पेसाले केही समय उनले नर्सिङ काम पनि गरिन् । नर्सिङ पढ्दापढ्दै समाजशास्त्र पढ्न थालिन् । स्नातक पढ्दै गर्दा शंकरदेव कलेजमा उनी स्ववियुको कोषाध्यक्ष भएकी थिइन् । त्यतिबेला उनीसँग हालकी ऊर्जामन्त्री रहेकी पम्फा भुसालले प्रतिस्पर्धा गरेकी थिइन् । सिर्जनाले पछि त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा एमए गरिन् ।

प्रजातन्त्र स्थापनाका लागि वाम गठबन्धनमा भएको ०४६ सालको आन्दोलनको नेतृत्व गणेशमानले गरेका थिए र चाक्सीबारी त्यसको मुख्य केन्द्र बनेको थियो । काठमाडौं महिला संघले चैत १४ मै सिर्जनाको नाम प्रस्ताव गरेको थियो ।

त्यसपछि काठमाडौंको तरुण दल र नेविसंघले उनको नाममा सहमति जनाएका थिए । सिर्जनाले पनि श्रीमान् प्रकाशमानबाट नभएर महिला संघबाट आफूलाई अघि बढ्न दबाब आएको बताएकी छिन् ।

यस्तै काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जनासँग प्रतिष्पर्धाका लागि नेकपा एमालेले केशव स्थापितलाई उम्मेदवार बनाएको छ ।
स्थापित यसअघि २०५४ सालमा पनि मेयर निर्वाचित भएका थिए। एमाले विभाजन भएर माले बनेसँगै उनी मालेमा गएका थिए। २०५९ सालमा एमाले र मालेको एकता भएसँगै उनी एमाले फर्किए। तर २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएसँगै उनी दरबारसँग निकट थिए। केही समय काठमाडौं महानगरको मेयर मनोनित भएका थिए।

एमाले छाडेर प्रजापरिषद आबद्ध भएका स्थापित २०६४ को संविधानसभा निर्वाचनमा एमालेमै फर्किएका थिए। एमालेको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका स्थापित त्यसपछि माओवादीसँग नजिकिएका थिए।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले स्थापितलाई उपत्यका विकास प्राधिकरणको प्रमुख बनाएका थिए। तर उनले लामो समय काम गरेनन्। दोश्रो संविधानसभामा स्थापित संघीय समाजवादीमा पार्टीमा आवद्ध भएका थिए। काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेर पराजित भए। त्यसपछि स्थापित एमालेमै फर्किएका थिए।

२०७४ को स्थानीय निर्वाचनमा स्थापित काठमाडौंको मेयरमा उठ्न चाहन्थे। तर त्यो बेला विद्यासुन्दर शाक्य उम्मेदवार बने। शाक्यलाई जिताउन उनी निकै खटेका थिए। त्यसकै परिणाम उनले २०७४ मंसिरमा भएको निर्वाचनमा प्रदेश सभाको टिकट पाए।

उनी बागमती प्रदेशको भौतिक मन्त्री समेत बनेका थिए। मुख्यमन्त्री डोरमणि पौडेललाई गाली९गलौज र दुर्व्यवहार गरेपछि उनी २०७६ कात्तिकमा बर्खास्तगीमा परेका थिए। त्यही बेलामा उनलाई दुई महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए। यद्यपि यसको कुनै छानबिन भएन।

प्रतिक्रिया दिनुहोस