Latest News

माओवादीबाट सन्धिखर्कको मेयरमा श्रीधर खनाल सिफारिस

Nepalese Times April 19, 2022 (2 Year ago)    601 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको मेयरको उम्मेदवारमा सञ्चार उद्यमी श्रीधर खनाललाई अघि सार्ने भएको छ ।

उनलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्पर्क समन्वय समिति, काठमाडौं र सम्पर्क समन्वय विशेष प्रदेश समितिले मेयर पदको उम्मेदवारका पार्टी केन्द्रीय कार्यालयसमक्ष सिफारिस गरेको हो ।

राजनीतिसँगै मिडिया क्षेत्रमा लगानी गरेका खनाल जनता टेलिभिजनका सदस्य तथा एप्पल मिडिया प्रालिका अध्यक्षसमेत हुन् । उनी २०५६ देखि माओवादी केन्द्र (तत्कालीन नेकपा माओवादी) मा आबद्ध भएर विभिन्न समितिमा रहेर काम गर्दै आएका छन् ।

२०५६ सालदेखि माओवादी केन्द्र (तत्कालीन नेकपा माओवादी) मा आबद्ध भई विभिन्न समितिमा रहेर काम गर्दै आएका खनालले पछिल्लो समय पार्टीको लुम्बिनी काठमाडौँ प्रदेश सम्पर्क समन्वय समितिमा आबद्ध छन् ।

समन्वय समितिमा रहेका व्यक्तिहरू उम्मेदवार बन्ने इच्छा रहेमा आफू कार्यरत कमिटीबाट सिफारिस गराई सम्पर्क समन्वय विशेष प्रदेश समितिले पार्टी केन्द्रीय कमिटीमा सिफारिस गरी पठाउनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार खनालको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिएको हो ।

यस्तै कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्षका लागि अखिल क्रान्तिकारी केन्द्रीय समिति सदस्य तथा अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालयको सह-संयोजक ममता अधिकारी सिफारिस भएकी छन्। उनलाई नेकपा माओवादी केन्द्रको गाउँपालिका कमिटीको विस्तारि बैठकले उपाध्यक्षको उम्मेदवारको रूपमा अघि सारेको हो।

कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाबाट विद्यार्थी कालबाट राजनीतिमा आएकी अधिकारी अहिले नेकपा माओवादी केन्द्रकी सक्रिय नेत्री हुन्। उनले पार्टी तथा समाजमा योगदान पुर्‍याएकी छन्। विद्यार्थी नेत्रीको रूपमा चिनिने उनले विद्यार्थी हक हितका लागि सधैँ अग्रसर भएर तथा समाजका लागि बेलाबेला सडक तथा पार्टीमा आवाज उठाइँदै आइरहेकी छन्।

सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय अधिकारी सानित्रीबेणी गाउँपालिकाका तथा समग्र कर्णालीमा नै महिला तथा विद्यार्थी युवा माझ लोकप्रिय छन्। ममता अधिकारीसँगै सान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्षका लागि अन्य तीन जना प्रदेश सिफारिस भएका छन्।

यस्तै सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकरएक महानगरको नेतृत्व लिने सहमति भएको हो ।

निर्णय अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउने भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।

नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस