Latest News

एक कदम पछि हट्छु भन्दै माधव नेपाललाई केपी ओलीको फोन, माधवले के जवाफ फर्काए ?

Nepalese Times April 1, 2022 (2 Year ago)    2894 Views

काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तहको चुनावदेखि नै तालमेल गर्ने सहमति गरेका छन् । विशेषगरी महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाटै तालमेलको मोडालिटी बनाउने र अरु पालिकाहरुमा पनि आवश्यकता अनुसार तालमेल गर्ने सहमति भएको छ ।

सत्तारुढ दलहरुबीच चुनावी तालमेलको सहमति भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु एक्लै भिड्न तयार रहेको भन्दै भाषण दिँदै हिँडिरहेका छन् ।

तर, स्थानीय तहको निर्वाचन नजिकिएसँगै ओली देशभर पराजय हुने डरले हारगुहार गर्न थालेका छन् । सत्तारुढ गठबन्धनका दल तीनै तहको निर्वाचनमा मिलेर जान सहमत भएसँगै ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुलाई फकाउन सुरु गरेका छन् ।

गठबन्धन यथावत हुँदा तीनै तहको निर्वाचनमा हार हुने बुझेरका ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘मिलौन’ भनेर बारम्बार म्यासेज गरिरहेका छन् ।

यस्तै उनले भर्खरै एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत ‘मिलेर अघि बढौं, म एककदम पछि हट्न तयार छु’ भन्दै फोन तथा म्यासेज गर्न थालेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल अहिले टर्कीमा छन् । जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा माग लिन टर्की पुगेका हुन् । नेपाल भोली नै स्वदेश फर्कँदै छन् । तर, पराजयको डरले छटपटीमा रहेका ओलीले फोन गरेर सत्ता गठबन्धन तोड्ने प्रयास गरेका हुन् ।

ओलीले हिजो नेपालगञ्जबाट टर्कीमा रहेका नेपाललाई फोन गरेर सहमति भए आफू एककदम पछि हट्न तयार रहेको बताएका हुन् । नेपालले भने जवाफमा ‘यस्तो कुरा सम्भव छैन’ भनेका छन् ।

यस्तै चुनावी तालमेलका क्रममा धेरै पालिकाहरुमा कांग्रेसले दाबी गर्ने र कांग्रेसका नेताहरुले पनि रुष्ट भाषा प्रयोग गरेको भन्दै माओवादीका नेताहरु एमालेका नेताहरुसँग निरन्तर छलफलमा रहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै आफ्नो पार्टीका नेताहरुले एमालेका नेताहरुसँग मध्यरातको १२ बजेसम्म चुनावी तालमेलबारे कुराकानी गर्ने गरेको खुलासा गरेका छन् ।

प्रचण्डले सत्तारुढ नेपाली कांग्रेसलाई चुनावी तालमेलको विश्वासिलो आधार नदिए नेकपा एमालेतिर जाने चेतावनी दिँदै कांग्रेसले आवश्यक हैसियत नदिए एमालेसँग मिल्ने बताएका छन् ।

माओवादीका केही नेताहरु राति १२ बजेसम्म पनि नेकपा एमालेका नेताहरुसँग मिटिङ गरिरहेको खुलासा गर्दै अध्यक्ष प्रचण्डले स्थानीय सरकारको गठबन्धन सही ढंगले गएन भने आफूले नचाहँदा नचाहँदै पनि एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्था आउने बताए ।

प्रतिक्रिया दिनुहोस