
धादिङ । नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ बाट कांग्रेस नेतृ एवम् कलाकार, समाजसेवी शान्ताकुमारी तामाङ पहिलो नम्बरमा समानुपातिक तर्फको उम्मेदवारमा सिफारीस भएकी छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेस धादिङ जिल्ला कमिटिले उनलाई पहिलो नम्बरमा महिलातर्फ समानुपातिक उम्मेदवार सिफारीस गरेको हो । उनिसंगै समानुपातिक महिलातर्फ भगवती उप्रेती र रीता थापा मगर पनि उम्मेदवार सिफारीस भएका छन् ।
झण्डै दुई दशकदेखि काँग्रेसमा रहेर राजनीति, कलाकारीता र समाजसेवा सकृय रहेकी नेतृ तामाङ दुई पटक काँग्रेसको अधिवेशनमा महासमिति सदस्य भइसकेकी छन् । त्यस्तै जय नेपाल इन्टरनेशनल फाउण्डेसनको संस्थापक सदस्य रहेकी तामाङ २०७९को निर्वाचनमा प्रदेश सभा सदस्यमा बन्द सूचीमा परेकी थिइन् ।
धादिङको खनियाबास गाउँपालिका- ३ की स्थायी बासिन्दा नेतृ तामाङ कलाकारिता क्षेत्रमा एक स्थापित नाम समेत हो । विशेषगरी आदीवासी जनजातीहरुको कला, संस्कृती, भेषभुषा, महिला शसक्तीकरणमा उनको महत्वपुर्ण योगदान रहेको छ ।
विधार्थी जिवनकालदेखि नै काँग्रेसको राजनीतिमा जोडिएकी नेतृ तामाङ कलाकारीता र समाजसेवामार्फत समाजमा स्थापित छन् ।
नेपाली चलचित्र हिमालकी रानीकी नायिका समेत रहेकी नेतृ तामाङले आदीवासी जनजाती महिलाहरुको शसक्तीकरण र कलासंस्कृतीको जर्गेना गर्ने उदेश्यले हरेक बर्ष मिस एण्ड मिसेस तामाङ, मिस एण्ड मिसेस गुरुङ जस्ता प्रतिष्ठित प्रतियोगिता गर्दै आएकी छन् ।
आदीवासी जनजाती विवाहित र अविवाहित महिलाहरुको समग्र विकास र समुदायको कला संस्कृती, भेषभुषा, गीत संगीतको प्रचारप्रसार र जर्गेनामा उनको ठुलो योगदान रहँदै आएको छ । नेतृ तामाङलाई आदीवासी जनजाती समुदायका नयाँ पुस्ताहरुले आफ्नो आइडलका रुपमा समेत लिने गर्दछन् ।
समुदायमा रहेर काम गरिरहेकी नेतृ तामाङ संसदमा पुग्ने अवसर मिलेमा आवाजविहिन जनताको पक्षमा अझै सकृय रुपमा काम गर्ने बताउँछिन् । राज्यबाट उपेक्षामा रहेको बर्ग, समुदायका समस्या, महिलाका उत्पिडन र एजेण्डाबारे संसदमा गएर उनिहरुको पक्षमा नीति नियम, कानुन निर्माणमा भूमिका खेल्ने नेतृ तामाङको भनाई छ ।
