धादिङ । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीसहितका पत्रकारहरुमाथि ‘ब्ल्याकमेलिङ’ गरेको आरोप लागेको छ ।
अडिओ भिज्युअल मिडिया प्रालिद्धारा संचालित कन्दरा समाचार डटकमका प्रधान सम्पादकसमेत रहेका अधिकारी, धादिङ न्यूज डटकमका प्रधानसम्पादक केशव अधिकारी र बागमती कलमका प्रधानसम्पादक अनिल कुमार नेपालीमाथि ‘ब्ल्याकमेलिङ’ को आरोप लागेको हो ।
उनीहरुले आफूसँग बार्गेनिङ नमिलेपछि चरित्रहत्याको प्रयास भएको भन्दै धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् ।
कसरी भयो ब्ल्याकमेलिङ ?
उजुरीमा भनिएअनुसार धादिङ न्यूज डटकमका प्रधानसम्पादक केशव अधिकारीले सिद्धलेक गाउँपालिकाको कार्यलय नजिकै स्टेशनगरी, छाप, प्रमाणपत्रहरुसमेत बनाउने पसल संचालन गरी व्यापार व्यवसाय गर्दै आइरहेका छन् ।
सिद्धलेक गाउँपालिकाको लागि आवश्यक पर्ने स्टेशनरीका सामान, छाप, प्रमाणपत्र लगायत सामानहरु तथा गाउँपालिकाबाट प्रकाशित गर्ने विज्ञापन तथा सूचना समेत प्रकाशित गर्ने सम्पूर्ण कामको जिम्मा दिनका लागि उनले भनेका थिए ।
तर गाउँपालिकाले आफ्नो आन्तरिक आवश्यकता बमोजिम खरिद गर्नुपर्ने सामानहरु, प्रकाशित तथा प्रशारण गर्ने सूचना र विज्ञापनसमेत कानुन बमोजिम बोलपत्र आह्वान गरी गर्ने व्यवस्था रहेकोले प्रक्रियामा आउन भनेको थियो । पालिकाले दिएको यहि जवाफसँग रुष्ट भएर ब्ल्याकमेलिङको प्रयास गरिएको पालिका अध्यक्ष खतिवडाको आरोप छ ।
यस्तै धादिङ न्यूज डटकमका प्रधानसम्पादक अधिकारी तथा बागमतीकलम डटकमका प्रधानसम्पादक अनिल कुमार नेपालीसमेतले पटक पटक गाउँपालिकालाई आवश्यक पर्ने सामग्री खरिदको जिम्मा नदिने हो भने नराम्रा समाचार प्रकाशित गर्ने धम्की दिदै आएको र बार्गेनिङ असफल भएपछि गलत समाचार प्रकाशित गरेको उजुरीमा भनिएको छ ।
अनुमति नलिई विज्ञापनको बिल पेश !
गाउँपालिकासँग कुनै अनुमति नै नलिई गाउँपालिकाको कार्यक्रमलगायतको सूचना विज्ञापन प्रकाशित गरेको भनेर रकम माग गरेर बिल पेश गरेको अध्यक्ष खतिवडाको आरोप छ । प्राप्त विवरणअनुसार आरआर मिडिया हाउसद्धारा संचालित बागमती कलम डटकमले सन्देशमूलक सामग्री प्रकाशन गरेको भनेर २० लाख रुपैयाँ भुक्तानीको लागि विल पेश गरेको थियो ।
यस्तै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्षसमेत रहेका सिताराम अधिकारीको अडिओ भिजुअल मिडिया प्रालिद्धारा संचालित कन्दरा समाचार डटकमले सूचना विज्ञापन रकम भुक्तानी सम्बन्धमा भनेर २० हजार रुपैयाँको बिल पेस गरेको थियो ।
उनीहरुले गाउँपालिकाको पूर्व स्वीकृति नै नलिई विज्ञापन तथा सूचना प्रकाशित गरेको भनेर बिल पेस गरेको तर रकम भुक्तानी गर्न समस्या भएको गाउँपालिकाले जवाफ दिएपछि गलत समाचार प्रकाशित गरिएको उजुरीमा भनिएको छ ।
गाउँपालिकाले यो भुक्तानीका लागि प्रक्रिया पुरा गर्न समय लाग्नेसमेत जानकारी गराएको थियो । पालिकाले तत्काल भुक्तानी दिन नसक्ने भनेपछि उनीहरुले आक्रमक रुपमा विवाद गर्ने, धम्क्याउनेलगायतका कार्य गरेको पालिका अध्यक्ष खतिवडाले आरोप लगाएका छन् ।
त्यसपछि भ्रामक समाचार !
२०८२ साल साउन २९ गते गाउँ शिक्षा समितिको बैठक बसेको थियो । त्यो बैठकले सामूदायीक विद्यालय समायोजन तथा दरबन्दी मिलान कार्यविधि २०८२ अनुसार विद्यार्थीहरु नभएको वा न्यून संख्यामा मात्र विद्यार्थी भएको, भौगोलिक अवस्थाको आधारमा समेत विद्यार्थीहरुलाई लामो यात्र गर्नु नपर्ने, यातायातको सुविधा भएको, भौगोलिक अवस्थाको आधारमा विद्यालय राखिराख्नु उपयुक्त नभएको आधारमा विद्यालयलाई समायोजन गर्ने निर्णय गरको थियो ।
यसरी समायेजन गर्दा राष्ट्रिय ढुकुटीबाट अनावश्यक रुपमा भएको खर्च कटौती गर्न सकिने भएकोले विद्यालय समायोजन तथा दरबन्दी मिलानको निर्णय भएको गाउँपालिकाको प्रष्टोक्ति छ । जालपादेवी आधारभुत विद्यालयलेसमेत विद्यालय बन्दको गलत समाचार प्रकाशित भएको भनेर विज्ञप्ति प्रकाशित गरेको छ ।
यहि निर्णय बमोजिम शिक्षकहरुको सरुवा सम्बन्धी निर्णयसमेत भएको गाउँपालिकाका अध्यक्ष खतिवडाको भनाई छ । तर गाउँपालिकाले गरेको यो निर्णयलाई अतिरंजित गर्ने, भ्रम पैदा गर्नेगरी समाचार प्रकाशित गर्ने र केही फाइदा लिन पाइन्छ कि भनेर बार्गेनिङ तथा ब्ल्याकमेलिङसमेतका कार्य भएको खतिवडाको दाबी छ ।
यसैक्रममा बागमतीकलम डटकमले भदौ ३ गते ‘सिद्धलेकमा ९ वटा विद्यालयमा समायोजनः २४ जना शिक्ष्कको सरुवा संगै विद्यालय वर्गिकरण’ भनेर समाचार प्रकाशित गरेको थियो ।
यो समाचार बार्गेनिङ नमिलेको कारण प्रकाशित भएको अध्यक्ष खतिवडाको आरोप छ ।
सीसीटीभी फुटेजमा के छ ?
गाउँपालिकाले प्रकाशित समाचारबारे छलफल गर्नका लागि बोलाएको थियो । पालिकाको आग्रह अनुसार धादिङ न्यूज डटकमका प्रधानसम्पादक केशव अधिकारी पालिकामा गएको सीसीटिभी फुटेजमासमेत देखिन्छ । नेप्लिज टाइम्सलाई प्राप्त सीसीटीभी फुटेजमा पत्रकार अधिकारी भित्र प्रवेश गरेको र केही विषयमा छलफल गरेको देखिन्छ ।
उनले बाहिरिने क्रममा नमस्कार गरेर बाहिरिएको देखिन्छ । त्यसक्रममा आफूले भुलसुधारसहित समाचार सच्याउन आग्रह गरेको अध्यक्ष खतिवडाको भनाइ छ । पत्रकार अधिकारीले पूर्वप्रस्ताव बमोजिम निर्णय गर्ने हो भने सहयोग गर्न तयार रहेको भनेर बार्गेनिङ गरेको उजुरीमा लेखिएको छ ।
बार्गेनिङ नमिलेपछि पत्रकारलाई ‘गाउँपालिकाका अध्यक्ष खतिवडाले धम्की दिएको’ भन्दै पत्रकार महासंघलाई विज्ञप्ति निकाल्न लगाईएको उजुरीमा भनिएको छ ।
गाउँपालिकामा पेश भएको बिलको भुक्तानी रोकिएको प्रतिशोधमा पत्रकार महासंघका अध्यक्ष सिताराम अधिकारीसमेतको मिलेमतोमा विज्ञप्ति प्रकाशित गरेर आफ्नो चरित्र हत्या गरिएको गाउँपालिकाका अध्यक्ष खतिवडाको दाबी छ ।
के छ पत्रकार महासंघको विज्ञप्तिमा ?
पत्रकार महासंघ धादिङका अध्यक्ष अधिकारीको हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा धादिङ न्यूज डटकमका प्रधानसम्पादक केशव अधिकारी र नेपाल पत्रकार धादिङका सदस्य एवम् बागमती कलम डटकमका प्रधानसम्पादक अनिल कुमार नेपालीमाथि सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले गाउँपालिका प्रहरी लगाएर कार्यकक्षमा उपस्थित गराई धम्की दिएको घटनाप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गाउँपालिकाको वेबसाईटमा राखिएको सूचनालाई आधार मानेर लेखिएको समाचारको विषयलाई लिएर पालिकाका अध्यक्षबाट पत्रकारहरुमाथि गरिएको दुव्र्यवहार आपत्तिजन रहेको विज्ञप्तिमा भनिएको छ ।
गाउँपालिकाका अध्यक्षले संचारमाध्यमका सम्पादकहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर असम्बन्धित व्यक्तिलाई कार्यकक्षमा राखेर पत्रकारलाई टेलिफोनमार्फत समाचार किन लेखेको भन्दै अपमानजनक व्यवहास गरेको महासंकले विज्ञप्तिमा भनेको छ ।