Latest News

प्रहरीको सामान खरिदमा घोटला प्रयास, सेटिङमा ठेक्का हत्याउन खोजेपछि अख्तियारमा उजुरी

Nepalese Times August 1, 2025 (19 Hour ago)    108 Views

काठमाडौं । नेपाल प्रहरीले आर्थिक बर्षको सुरुमै सामान खरिदको नाममा सेटिङमा ठेक्का आह्वान गरेको खुलेको छ । चुस्तालगायतका विभिन्न सामान खरिदका लागि  सेटिङमा ठेक्का आह्वान गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएको पाँच दिनमै सीमित ठेकेदारसँग सेटिङ गरी प्रहरीको प्रवन्ध निर्देशनालयदेखि नेतृत्वसम्मले मिलेमतो गरी ठेक्का निकालेर ठूलो घोटालाको प्रयास भएको भन्दै साउन ११ गते अख्तियारमा उजुरी परेको हो ।

साउन ५ गते बोलपत्र आह्वान गर्दै प्रहरी प्रधान कार्यालयले चुस्ता, म्याट्रेस, लत्ता कपडा, बेल्ट, बुटलगायतको सामान माग गरेको छ । बोलपत्रमा ४५ हजार सेट कम्लिट चुस्ता ड्रेस, ४० हजार जोर डीएमएस बुट (ब्ल्याक लेदर बुट), १६ हजार थान पार्का ज्याकेट, पाँच हजार पाँच थान क्यायर म्याट्रेस, ३५ हजार थान मिन्क ब्यांल्यकेट, ५० हजार मिटर वुमन सर्ट क्लोथ, ३० हजार जोर स्पोर्ट सुज, एक लाख पाँच हजार मिटर कटर्न सर्ट क्लोथ, ८६ हजार मिटर कटन पाइन्ट क्लोथ, ३५ हजार मिटर उलन पाइन्ट क्लोथ माग गरिएको छ ।

त्यस्तै, ११ हजार जोर टोप बुट, १५ हजार सेट ट्य्राकसुट, १२ हजार पाँच सय थान उलन स्वेटर, १५ हजार सेट अण्डर ट्राउजर भेस्ट सेट, आठ हजार थान स्लिपिङ ब्याग, ११ हजार थान पिन्चो, छ हजार पाँचसय थान रुकस्याग ब्याग, एक हजार दुई सय थान स्नो ज्याकेट, १५ हजार थान फ्लोरोसेन्ट सस्पेन्सन बेल्ट माग गरिएको छ ।

त्यसैगरी १५ हजार थान ब्रेट क्यापप, एक हजार दुई सय जोर स्नो बुट, एक हजार पाँच सय थान सिनियर पुलिस ज्याकेट, एक हजार पाँच सय थान बुकेल बेल्ट, १३ हजार पाँच सय थान पीटी भेस्ट, ४३ हजार थान इम्बोइड सिम्बोल फर भेरियस ¥यांक माग गरिएको छ ।

आर्थिक बर्षको शुरुवातमै भएको यो टेण्डरमा स्पेक, क्वालिफिकेसन र क्राइटेरिया बनाउँदा नै पछिल्लो वर्ष काम गरिरहेका ठेकेदारलाई मात्रै मिल्ने गरी बनाइएको उजुरीमा जिकिर गरिएको छ । जबकी यसअघि कहिल्यै पनि सीमित ठेकेदारलाई मिल्ने गरी स्पेक बनाउने गरिएको थिएन ।

उजुरीमा भनिएको छ –‘ठेकेदारहरु ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बीसी, श्रवण अग्रवाल, राजमान मिश्र, मित्र लामा र राजु थापा संलग्न कम्पनीलाई मात्रै मिल्ने गरी स्पेक बनाएर सेटिङमा टेण्डर दिलाएर महंगो मूल्यमा कमसल सामान भिडाउने तयारी गरिएको छ ।’

कमसल सामान र बढी मूल्यकै कारण भ्रष्टाचार हुने मात्रै नभई प्रहरीहरु समेत पीडित हुँदै आएका छन् । यद्यपी अन्य ठेकेदार राजमान मिश्र, मित्र लामा र राजु थापा पनि मिलेमतोमै ठेक्का हत्याउन बस्नेत र बिसीसँग सेटिङ गरिरहेका छन् । उनीहरुको योजना नै नेपाल प्रहरीका हरेक ठेक्कामा कोहि पनि नयाँ ठेकेदारलाई प्रतिष्पर्धा नै नगराई सेटिङमा ठेक्का हत्याएर महंगो मूल्यमा कमसल सामान सप्लाई गर्नु हो । जुन विगतका वर्षदेखि चल्दै आइरहेको छ ।

यो ठेक्कामा सेटिङका मास्टर मानिने ज्ञानेन्द्र बस्नेतले प्रवन्धका तलदेखि माथिसम्मका प्रहरी अधिकारीहरुलाई मिलाएर ७५ करोडको काम हात पार्ने दाउमा छन् ।

अघिल्लो वर्ष प्रहरीको ठेक्कामा एकलौटी राज गरेका ठेकेदार ज्ञानेन्द्र बस्नेतको कम्पनी जय सलिना इन्टरप्राइजेज प्रालि र भारतीय नागरिक अशोककुमार टिवडेवालको कोहिनुर टेक्सटाइल इन्ड्रस्टिज प्रालिलाई मात्र मिल्ने गरी स्पेक बनाइएका कारण अन्य कम्पनीले भाग लिनै नपाउनेसम्मको चलखेल सुरु भइसकेको छ । कोहिनुरमा नाम अशोककुमारको भए पनि काम भने ज्ञानेन्द्र बस्नेतले फर्म प्रयोग गरी काम गर्दै आएका छन् ।

प्रहरीमा वर्षौंदेखि सेटिङमा ठेक्का लिंदैआएका ज्ञानेन्द्र बस्नेत र श्रवण अग्रवालमध्ये बस्नेतले गत आर्थिक बर्षमा ६८ करोड बराबरको ठेक्का मिलेमतोमै लिएका थिए । यो वर्ष पनि बस्नेतले प्रहरी प्रधान कार्यालयका प्रवन्धका अधिकारीहरुसँग मिलेर अरबौंको ठेक्का हत्याउन खोजिरहेका छन् । टोपेन्द्र बिसीको तेजसम इन्टरप्राइजेज, श्रवण अग्रवालको क्यामोफ्लाईज नेपाल टे«डिङ प्रालिलाई मिलाएर समेत बस्नेतले ठेक्कामा सेटिङ गर्न खोजिरहेका छन् ।

प्रहरीको प्रबन्ध निर्देशनालयले प्रतिस्पर्धालाई सीमित गरी सेटिङका ठेकेदार ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बीसी र श्रवण अग्रवालको समूहका कम्पनीबाट सामान खरिद गर्न लागिरहेको छ । जुन कुरा अहिलेको बोलपत्रबाट प्रष्ट हुने उजुरीमा दावी गरिएको छ ।

उजुरीमा भनिएको छ–‘बस्नेतले ठेक्का हत्याउन यतिसम्म चलखेल गरेका छन् कि, जस्तै डिएमएस बुट, टप बुटका लागि आर्थिक वर्ष २०८०र८१ मा फुटवेयर सप्लाई गरेको हुनुपर्ने भनिएको थियो । त्यतिबेला उक्त ठेक्का आफैले हात पारेपछि बस्नेतले लेदरसहितको फुटवेयर सप्लाई गरे । त्यसपछि खोलिएका ठेक्कामा आफूले गरेको कामलाई नै आधार बनाई त्यहि स्पेसिफिकेसन क्राइटेरियामा राखिएको छ । जबकी बाणिज्य विभागले कुन फर्मले के काम गर्न पाउँछ भनेर स्पष्ट रुपमै तोकिदिएको हुन्छ । यो सँगसँगै कपडा उत्पादन गर्ने कोहिनुर बाहेकका फ्याक्ट्रीकै रेट मगाएर अनुसन्धान गर्ने हो भने पनि ५० प्रतिशत भन्दा बढी घोटाला हुन लागेको तथ्य उजागर हुन्छ ।’

बस्नेतकै कम्पनीलाई ठेक्का दिलाउन उनले दिएको नमूना अनुसारको स्पेक राखेर टेण्डर गरिएको छ । जुन कुराको तथ्य बस्नेतलगायतका सीमित ठेकेदारबाट ५ गुणा बढी मूल्यमा सेटिङमै खरिद गर्न लागिएको प्रवन्ध शाखाबाट आवश्यक कागजात मगाई जाँच गरेको खण्डमा सबै पुष्टि हुने उजुरीमा जनाइएको छ ।

यति हुँदाहुँदै पनि यो बोलपत्रलाई अगाडि बढाएको खण्डमा प्रहरीमा यस्ता अनियमितता र विकृतीहरु बढ्ने मात्रै होइन ठूलो भ्रष्टाचार भई नेपाल सरकारलाई हानी नोक्सानी हुने उजुरीमा उल्लेख छ ।

अहिले खरिद गर्न लागिएको क्वायर म्याट्रेस, रुकस्याक ब्याग, चुस्ता सेट, डिएमएस बुट, स्पोर्ट सुज, टप बुट र सस्पेन्सन बेल्ट ज्ञानेन्द्र बस्नेतको कम्पनीलाई र टोपेन्द्र बीसी तथा श्रवण अग्रवालको कम्पनीलाई ज्याकेट, कपडालगायको ठेक्का दिनेगरी क्राइटेरियाको बहानामा सेटिङमा बोलपत्र आह्वान भएको छ ।

त्यसैगरी, अभिग्न ट्रेड एण्ड सप्लायर्स जेभीस र अल्बेरो मल्टी ट्रेडिङ प्रालिसँग पनि बस्नेतले टेण्डरमा सेटिङ गरेर घोटाला गर्न खोजिरहेका छन् ।

‘प्रहरी प्रधान कार्यालयले ठेक्का आह्वान गर्नुअघि आपूर्ति गर्न खोजेका हरेक सामानको गुणस्तर परीक्षण गराउनुपर्ने हुन्छ । यो ठेक्कामा माग गरिएको क्वायर म्याट्रेस, बुट र कपडालगायतका सामानहरु प्रहरीले कहाँ–कहाँबाट गुणस्तर जाँच गरेको हो ? अख्तियारलगायतका निकायहरुले उक्त सामान र त्यसको रिपोर्ट मगाएर अनुसन्धान गर्ने हो भने सत्य तथ्य बाहिर आउने नै छ ।’–उजुरीमा थप भनिएको छ ।

यसअघि पनि बस्नेतको कम्पनीले आफूसँग भएको म्याट्रेसको डिजाइन स्वीकृत गर्न लगाई सप्लाइ गर्न खोजेका थिए । तर, चौतर्फी रुपमा त्यसको विरोध भएपछि प्रहरी प्रधान कार्यालयले नै रोकेको थियो । जुन अहिले पनि सामान सप्लाई गरेर भुक्तानी लिन बस्नेतले चलखेल गरिरहेका छन् ।

नयाँ आर्थिक वर्षको शुरुवातमा आह्वान भएको बोलपत्रमा स्पेक, क्वालिफिकेसन क्राइटेरिया, नमूना सबै आफू अनुकुल कम्पनीलाई मात्रै मिल्नेगरी राखिएपछि प्रहरीमा काम गर्दै आएका अन्य केही कम्पनीहरुले ठेक्का आह्वान नै गर्नु नपर्ने भन्दै विरोध गरिरहेका छन् ।

नयाँ कम्पनीले प्रतिस्पर्धा गर्न पाउनु त परै जाओस्, काम गर्दै आएका केही कम्पनीले समेत सेटिङ गर्न नसकेका कारण प्रतिष्पर्धाविनाको टेण्डरले कस्तो सुशासन कायम होला ?

प्रतिस्पर्धा नै गर्नबाट बञ्चित गराइएका एक ठेकेदार भन्छन्–‘एउटै कम्पनीलाई ठेक्का दिनु छ भने सिधै उसैको कम्पनीबाट सामान गरिद गरे भै हाल्यो नि । ठेक्का आह्वान गरेर आम जनताको आँखामा किन छारो हाल्नु प¥यो ?’

यसरी ठेक्का दिलाउँदा बस्नेत जस्ता ठेकेदारहरुको प्रहरीमा एकलौटी राज चल्ने मात्रै होइन्, सरकारलाई अरबौं रुपैयाँ नोक्सान हुने देखिन्छ । ठेक्कामा प्रतिस्पर्धा नै नभएपछि बस्नेतले एकलौटी ठेक्का हत्याउन खोज्दा प्रहरीमा झण्डै ५० करोड घोटाला हुने अवस्था सृजना भएको छ । अख्तियार स्रोतका अनुसार उक्त उजुरीमाथि गम्भीर रुपमा छानविन भइरहेको र सार्वजनिक खरिद अनुगमन कार्यालयसँग थप बुझ्ने काम भएको छ ।

प्रतिक्रिया दिनुहोस