काठमाडौं । धादिङको ज्वालामूखी गाउँपालिकामा आर्थिक वर्ष २०७९/८० मा जम्मा बेरुजू रकममध्ये १ करोड ३ लाख ७४ हजार रुपैयाँ अनियमित रकमको रुपमा रहेको छ ।
यस्तै १ करोड ५७ लाख रुपैयाँ असुल गर्नुपर्ने रकमको रुपमा रहेको छ । ४५ लाख ५९ हजार रुपैयाँ बराबरको हरहिसाबको प्रमाण पेश हुन नसकेको महालेखाले जनाएको छ । १८ लाख रुपैयाँ पेश्की रकमको भने असुली/फस्र्यौट हुन नसकेर म्याद नाघेर बसेको छ ।
यो गाउँपालिकामा कर्मचारीलेसमेत व्यापक आर्थिक अनियमितता गरेको भेटिएको छ । विशेषतः कार्यलय प्रमुख बद्रीनाथ लम्सालको कार्यकालमा मनलाग्दी ढंगले रकम खर्च भएको भेटिएको हो । लम्साल २०७४ साल साउन १ गतेदेखि २०७९ सालको अन्तिमसम्म झण्डै ५ वर्ष ज्वालामूखीमा कार्यरत थिए ।
रसिदको ठेली नै गायब
कार्यलय प्रमुख लम्सालको ५ वर्षे कार्यकालमा राजश्व अभिलेख नै गायब हुँदै आएको तथ्य भेटिएको छ । राजस्वको अभिलेख अध्यावधिक गरी त्यसको लेखापरीक्षण गराउने जिम्मा कार्यलय प्रमुखलाई हुन्छ । तर बद्रीनाथ लम्साले आफ्नो कार्यकालमा यो काम नै गर्न सकेनन् । वर्षेनी रसिदको ठेली नै गायब गराउने प्रयास गरियो ।
रसिदको छपाई गरेर वडा कार्यलयमा पठाउने गरेकोमा त्यसको अभिलेख पालिकाले महालेखालाईसमेत उपलब्ध गराउनुपर्ने थियो । तर तत्कालिन कार्यलय प्रमुख लम्सालले महालेखालाई राजश्वको अभिलेख नै देखाउन सकेनन् ।
अभिलेख नै नभेटिएको कारण अघिल्लो आर्थिक वर्षको बाँकी के कति छन् एकिन नै गर्न नसकिने अवस्था भएको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसरी रसिदको ठेली छपाई गरेर वडा कार्यलयमा पठाउने गरिएको भएतापनि पुरा अभिलेख पालिकाले उपलब्ध गराउन नसक्दा सेवाग्राहीबाट उठेको सबै रकम राज्यको खातामा नपुगेको आशंका गरिएको छ ।
ज्वालामूखीमा पालिकाको रसिद टेबलको घर्राभित्र थन्क्याएर राखेर कर्मचारीले छुट्टै रसिद खडा गरेर राज्यलाई ठगिरहेको हुन सक्ने आशंका महालेखाको छ । जनप्रतिनिधिकै मिलेमतोमा कर्मचारीले छुट्टै रसिद छपाएर आर्थिक हिनामिना गरेको हुन सक्ने भएकोले आवश्यक छानविन गर्नुपर्ने महालेखाले भनेको छ ।
पेश्की रकममा गोलमाल
ज्वालामूखी गाउँपालिकाको स्थापनाकालदेखि हालसम्म कार्यरत कम्प्यूटर अपरेटर धनबहादुर मास्की (राजेन्द्र) ले पालिकासँग २०८० साल असार १८ गते ८ लाख रुपैयाँ पेश्की रकम बुझेका थिए । मास्कीले यो रकमको हिसाब अहिलेसम्म बुझाउन सकेका छैनन् ।
महालेखाको ६१ औँ प्रतिवेदन अनुसार मास्कीको नाममा ८ लाख रुपैयाँ पेश्की रकम गएको देखिन्छ । तर आर्थिक वर्षको अन्तिमसम्ममा पनि असुल/फस्र्यौट नभई म्याद नाघेको छ ।
यो रकम कार्यक्रममा खर्च भएको मास्कीले नेप्लिज टाइम्सलाई बताएका छन् । तर कुन कार्यक्रमका लागि कुन शीर्षकमा कति रकम खर्च भएको हो भन्नेबारे उनले विवरण उपलब्ध गराउन सकेनन् । ८ लाख रुपैयाँको सबै हिसाबको विवरण सूचना अधिकारीमार्फत उपलब्ध गराउने बताएका मास्की त्यसपछि भने सम्पर्कमै आउन चाहेनन् ।
मास्कीले ८ लाख रुपैयाँ कार्यक्रममा खर्च भएकोले आफ्नो गोजीबाट असुल गर्न नसकिनेसमेत नेप्लिज टाइम्सलाई बताएका छन् । तर उनले खर्चको विवरण उपलब्ध गराउन नसक्नुले यसमासमेत हिनामिनाको गन्ध आएको छ ।
मास्कीसँगै गाउँपालिकाका अर्का कर्मचारी बाबुराम दुवाडीको नाममा समेत २०८० साल असार ३१ गते १ लाख रुपैयाँ पेश्की रकम गएको देखिन्छ । उनको नाममा रहेको यो रकमको हिसाब समेत पालिकाले देखाउन सकेको छैन । महालेखाको पछिल्लो प्रतिवेदन अनुसार मास्की र दुवाडीको नाममा गएको पेश्की रकम गर्त आर्थिक वर्षको अन्तिमसम्ममा पनि असुल/फस्र्यौट हुन सकेको छैन ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायीत्व नियमावली २०७७ को परिच्छेद ५ अनुसार २ कर्मचारीसहित विभिन्न संस्थाले १८ लाख रुपैयाँ पेश्की बुझेका थिए । तर त्यसको हरहिसाब सहितको असुल/फस्र्यौट अहिलेसम्म नभएको पाइएको छ ।
रिसोर्टको नाममा ८ लाख झ्वाम
धादिङको सिद्धलेक ४ मा रहेको रिभर पार्क बिच रिसोर्टमा कर्मचारी तालिम खर्च शीर्षकमा ज्वालामूखी गाउँपालिकाले ७ लाख ९६ हजार ३ सय ६० रुपैयाँ खर्च गरेको छ । तर यो तालिमको निर्णय, कार्यक्रम तथा तालिमको स्वीकृत प्रस्ताव, तालिमको कार्यतालिका, तालिम सम्पन्न प्रतिवेदनलगायतको केही पनि विवरण पालिकाले देखाउन सकेको छैन ।
नेप्लिज टाइम्सले सूचनाको हक प्रयोग गरेर विवरण माग गर्दासमेत पालिकाले यससम्बन्धि आवश्यक सूचना उपलब्ध गराउन सकेन । कर्मचारी तालिमको नाममा रिसोर्टलाई भुक्तानी दिइएकोमा यसको कुनै पनि कागजात महालेखालाईलेसमेत प्राप्त गर्न सकेन । यसरी कर्मचारी तालिम शीर्षकमा रिसोर्टलाई दिइएको ७ लाख ९७ हजार रुपैयाँ रकम अनियमित भएको महालेखाले स्पष्ट रुपमा आफ्नो प्रतिवेदनमा उल्लेख गरिदिएको छ ।
बैठक र प्रोत्साहन भत्तामा मनलाग्दी खर्च, अभिलेख नै छैन
गाउँपालिकाका कर्मचारीले बैठक भत्ता र प्रोत्साहन भत्ताको नाममासमेत मनलाग्दी रकम बुझेको भेटिएको छ । महालेखाको पछिल्लो प्रतिवेदन अनुसार कर्मचारीले बैठक भत्ताको नाममा १५ लाख रुपैयाँ खर्च लेखेको भेटिएको छ ।
एउटै निकाय र अन्तर्गतको पदाधिकारी वा कर्मचारी मात्रै बैठक बसेको भए त्यस्तो बैठक भत्ता उपलब्ध गराउन नसकिने कानुनी व्यवस्था छ । तर पालिकाको चालु खर्च शीर्षकबाट एकै आर्थिक वर्षमा १५ लाख रुपैयाँ बैठक भत्ताको नाममा मनपरी ढंगले राज्यको सम्पत्ती कर्मचारीको खल्तीमा गएको देखिन्छ ।
यस्तै कर्मचारीहरुले मनपरी ढंगले खाईपाई अएको तलबमा १५ देखि ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरी त्यहि निर्णय अनुसार रकम बुझ्ने गरेको भेटिएको छ । यसरी पालिकाका कर्मचारीले प्रोत्साहन भत्ताको नाममा २१ लाख रुपैयाँ र फिल्ड भत्ताको नाममा ५ लाख रुपैयाँभन्दा बढी रकम बुझेको देखिन्छ ।
उनीहरुले प्रोत्साहन भत्ता बुझेवापत अतिरिक्त कार्य समयतालिका, प्रोत्साहन अनुपातको मापदण्ड, अतिरिक्त कार्य अवधिको हाजिरीलगायत कुनै पनि विवरण बुझाउन सकेका छैनन् । यससम्बन्धि अभिलेखसमेत गाउँपालिकाले राखेको भेटिँदैन ।
पुरस्कारको नाममा पनि मनलाग्दी खर्च
कोही कसैले राम्रो काम गरेवापत प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने गरिन्छ । तर ज्वालामूखी गाउँपालिकामा तिरस्कृतयोग्य कर्मचारीलेसमेत पुरस्कारको नाममा खल्तीमा रकम बुझेको भेटिएको छ । त्यसरी मनपरी ढंगले पुरस्कारको नाममा रकम बुझ्ने कर्मचारीहरुमा केदार ईटनी, कमला कार्की तिवारी, लक्ष्मी राई र शिवलाल श्रेष्ठ रहेका छन् ।
जबकी जनकी ५ हजार रुपैयाँका दरले पुरस्कार बुझ्ने ति कर्मचारीहरुमाथि कार्यसम्पादनको विषयमा प्रश्न उठ्दै आइरहेको छ । गाउँपालिकाको आन्तरिक आयलाईसमेत बिचार नगरी पुरस्कारको नाममा वितरण गरिएको यो रकमलाई महोखाले सैद्धान्तिक बेरुजूको रुपमा राखिदिएको छ । यसरी मनपरी ढंगले पुरस्कारको नाममा रकम बाँड्न बन्द गर्नुपर्ने महालेखाले भनेको छ ।
हचुवामा बिल पेस गरेर भुक्तानी
ज्वालामूखीमा गाउँपालिकाका कर्मचारीको बदमासी यो हदसम्म देखिएको छ कि, बिल पेस गरेकै भरमा भुक्तानी दिएको भेटिएको छ । बिल पेस गर्नेले न त काम गरेको प्रमाण पेश गर्नुपर्छ, न त कुनै आधार नै ।
बिल पेस गरेकै भरमा ज्वालामूखीका कर्मचारीले इन्द्रेणी सोलुसन्स प्रालिलाई ४ लाख रुपैयाँ भुक्तानी दिएको भेटिएको छ । आधार र प्रमाण पेस हुन नसके इन्द्रेणी सोलुसन्सको नाममा नक्कली बिल पेस गरेर ४ लाख रुपैयाँ भुक्तानी दिएर अनियमिताको प्रयास भएको पुष्टि हुने महालेखाले संकेत गरेको छ ।
यो रकम भुक्तानीको क्रममा विभिन्न स्वास्थ्य संस्थाको नाममा सामाजिक परीक्षण गरिएको भनिएको छ, तर कुन स्वास्थ्य संस्थामा कहिले र कसरी सामाजिक परीक्षण गरिएको हो भन्ने प्रमाण पालिकाका कर्मचारीले उपलब्ध गराउन सकेको छैन । त्यसैले महालेखाले कि यो भुक्तानीको प्रमाण देखाउनुपर्ने, हैन भने रकम असुल गर्नुपर्ने भनेको छ ।
सम्बन्धित समाचार
ज्वालामूखी गाउँपालिकामा कृषि अनुदान दूरुपयोग भएको भन्दै अख्तियारमा उजूरी दर्ता
ज्वालामूखीका उपाध्यक्षको स्पष्टीकरण – बेथितिको मतियार बनाउन खोजियो, भारी बोक्न सकिँदैन
ज्वालामूखीमा सत्तामै रहेको नेकपा एस पनि कांग्रेससँग रुष्ट, कृषि अनुदान दुरुपयोग भएको ठहर !
समाजवादी प्रेसका केन्द्रीय नेताले पनि बुझे ज्वालामूखीको कृषि अनुदान, महालेखाले उठायो प्रश्न
ज्वालामूखीमा बेथितिः कांग्रेसको पालिका सभापतिलाई १६ लाख कृषि अनुदान ! (प्रमाणसहित)
ज्वालामूखीले लुकाएको अर्को प्रमाण: कम्प्युटरको ‘सामान्य भाइरस’ हटाउँदा पनि लाखौँ अनियमित ?
ज्वालामूखी गाउँपालिकामा १८ लाख रुपैयाँ अनियमितता, कसको खल्तीमा कति ? (विवरणसहित)
ज्वालामुखीमा सरकारी मोटरसाईकलको दुरुपयोग, घाईते नाबालक अस्पतालमा, चालकलाई उन्मुक्ति
ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश
ज्वालामूखीमा अध्यक्षसहितको गतिविधि अवान्छित देखियो, तत्काल छानविन गरियोस – माओवादी
ज्वालामूखीमा भएको भनिएको भ्रष्टाचारको भण्डाफोर गरौँ – राष्ट्रिय स्वतन्त्र पार्टी
ज्वालामूखी गाउँपालिका भ्रष्टाचारी उत्पादन गर्ने कारखाना बन्यो, कडा प्रतिवाद गरौँ– एमाले